करिब १५ वर्ष फिल्म निर्माणको अनुभव संगालेपछि निर्मात्री कृषा चौलागाईं यही भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशनमा उत्रिएकी छन् । फिल्म निर्देशन गर्नुअघि उनले केही सर्ट फिल्म र विज्ञापनको निर्देशन गरेकी थिइन् । ‘सुश्री’ फिल्मको स्क्रिप्ट समेत लेखिन् । आफूलाई अनुभवले निर्देशक बनाएको मान्ने उनी ‘ऐंचो पैंचो’ ‘लार्ज स्केल’मा बनेको दाबी गर्छिन् ।
कृषा भन्छिन्, ‘एउटा निर्देशकले जुन ‘लेभल’को क्यानभास पनि सोच्न सक्छ तर त्यो नेपालको हकमा कति पूरा गर्न सकिन्छ भन्ने हो । बजेटदेखि धेरै कुराले कहिले काहीँ क्यानभास खुम्चिन पनि सक्छ । तर, ‘ऐंचो पैंचो’को जुन स्क्रिप्ट बनेको थियो, त्यसलाई सोचेको भन्दा मेकिङमा अलि ‘लार्ज स्केल’मा जान खोजेका छौं ।’ कमर्शियल मापदण्डमा फिल्म बनाउने प्रयास गरेको उनको भनाई छ ।
सम्पूर्ण परिवारसँग बसेर हेर्न मिल्ने फिल्म बनेको दाबी गर्दै कृषा भन्छिन्, ‘बीचमा प्रयोगात्मक फिल्महरु पनि बने, जुन परिवारसँग सम्बन्धित हुन सकेनन् । तर, फिल्म चल्ने र रुचाइने भनेको सबै परिवारले हेर्न मिल्ने नै हो । त्यहीअनुरुप फिल्म बनाउन खोजेका छौं ।’ फिल्मले उठाएको विषयवस्तु समसामयिक रहेको र समाजलाई बुझ्नका लागि भए पनि ‘ऐंचो पैंचो’ हेर्नुपर्ने उनको धारणा छ ।
उनलाई हरेक हप्ता हलमा फिल्म आउनु पर्छ भन्ने लाग्छ । अहिले मानसिक समस्याका कुराहरु एकदमै आइरहेकाले मनोरञ्जनका लागि भए पनि फिल्म आउनुपर्ने उनको तर्क छ । ‘फिल्म हेरेपछि २/३ घण्टा दिमागमा अरु चीज आउँदैन, फिल्म मात्रै चलिराख्छ । यसैले ‘रिफ्रेसमेन्ट’का लागि पनि फिल्म आइरहनुपर्छ,’ कृषा भन्छिन्, ‘समाज बुझ्न र मनोरञ्जन लिनका लागि ‘ऐंचो पैंचो’ हेर्नुपर्छ ।’