गत वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ अब सःशुल्क रुपमा ओटीटी प्लेटफर्ममा उपलब्ध भएको छ । सन् २०१६ देखि सञ्चालनमा आएको सिनेमाघर एपमा शुक्रबारबाट फिल्म रिलिज भएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म रिलिजबारे जानकारी गराइयो । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई १ सय ९९ रुपैयाँ तिरेर हेर्न सकिने जनाइएको छ ।
‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा सञ्चालक खगेन्द्र लामिछानेले विश्वास व्यक्त गरे । १/२ वर्षयता नेपालमा एपमा फिल्म हेर्ने दर्शकको संख्या बढ्न थालेको उनको अनुभव छ । केही वर्ष अगाडि सय रुपैयाँ मूल्य राखेर फिल्म हेर्न आग्रह गर्दा धेरै गाली आउने गरेकोमा अहिले दर्शकहरुले नै विभिन्न फिल्मको डिमान्ड गर्ने अवस्था आएको उनले बताएका छन् ।
एपका अध्यक्ष समेत रहेका उनले भने- ‘कुनै समय युट्युुबमा फिल्म हेर्ने चलन थियो, त्यो विस्तारै हट्दै गएको छ । यतिबेला विभिन्न एप्लिकेसनहरुमा फिल्म हेर्ने बानी बस्दै गएको छ । केही वर्ष अगाडिसम्म पैसा तिरेर फिल्म हेर्न आग्रह गर्दा एकदमै गाली आउँथ्यो । अहिले दर्शकहरुले यो फिल्म कहिले आउँछ भनेर सोध्ने गर्नुहुन्छ । विस्तारै एपमा फिल्म हेर्ने बानीको विकास भैरहेको देखिन्छ ।’
गत वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए । उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा नेपाली फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ ।
‘महापुरुष’का प्रमुख अभिनेता हरिवंश आचार्यले पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान रहेको बताए । नेपाली फिल्मका लागि अर्को नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।
उक्त कार्यक्रममा फिल्मका निर्देशक प्रदीप भट्टराई, निर्माताद्वय म्यास दिपेश खत्री र रविन्द्र सिंह बानियाँ, कलाकारहरु गौरी मल्ल, राजाराम पौडेल, नरेश पौडेल, अरुण क्षेत्रीलगायतको पनि उपस्थिति थियो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘महापुरुष’ले घरेलू बक्सअफिसमा ७ करोड ३८ लाखमाथिको ग्रस कलेक्सन गरेको थियो । यो फिल्मले समीक्षा पनि उत्कृष्ट प्राप्त गरेको थियो ।
एन्ड्रोइड मोबाइल, ट्याब्लोईड, एन्ड्रोइड तथा स्मार्ट टीभी, अमेजन फायर टीभी, सामसुङ जस्ता टीभीमा सिनेमाघर एप उपलब्ध छ भने मोबाइलमा एप ‘लगइन’ गरेर त्यसबाट अरु डिभाइसमा पनि फिल्म हेर्न सकिने व्यवस्था गरिएको छ । नेपालमा इसेवा र खल्ती तथा विदेशबाट डेबिट कार्ड र क्रेडिट कार्डमार्फत् भुक्तानी गर्न सकिनेछ । यो एपका प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् ।