केही दिनदेखि निरन्तर पानी परिररहेको छ । जसले गर्दा जनजीवन नै अस्तव्यस्त बनेको छ । वर्षातको समयमा फिल्म रिलिज झन् जोखिमपूर्ण मानिन्छ । किनकि, पानीमा रुझ्दै दर्शकहरु हलसम्म पुग्न चाहँदैनन् । तर, वर्षातको बाबजूद पनि शुक्रबारबाट प्रदर्शन भएको फिल्म ‘जय हो’ले दर्शकको सुखद साथ पाएको छ । बिहानी शो औसत भए पनि दिउँसोबाट फिल्मले दर्शक बढाएको छ ।
काठमाडौंका केही मल्टीप्लेक्सहरुमा दिवा शो करिब हाउसफुल थिए । शुक्रबार दिउँसो दर्शक प्रतिक्रिया बुझ्न पिता शोभित बस्नेत र श्रीमती करिश्मा केसीको साथमा काठमाडौंका केही हलमा पुगेका अभिनेता सलोन बस्नेत प्रफुलित मुद्रामा देखिए । पहिलो दिन नै दर्शकहरुको उत्साहजनक साथ र प्रतिक्रियाले फिल्ममा गरेको मिहिनेत केही हदसम्म सफल भएको उनले महसुस गरेका छन् ।
‘दर्शकहरुले फिल्म हेर्दा मज्जा लिइरहनुभएको थियो । त्यसले एकखालको सन्तुष्टि मिलेको छ । लामो समयदेखि यही फिल्म भनेर म बसिरहेको थिएँ । र, आज दर्शकले जुनखालको प्रतिक्रिया दिनुभयो, त्यसले हामीले गर्न खोजेको कुरामा केही सफल भयौं भन्ने लागेको छ । धेरै ठाउँमा फिल्मको अकुपेन्सी राम्रो छ भन्ने खबर आएको छ । आज चाहिँ घर गएर मज्जाले सुतिन्छ,’ सलोनले भने ।
‘जय हो’ सलोनको करिअरसँग जोडिएको छ । यसपटक उनलाई आफ्नो स्टारडम प्रमाणित गर्नुपर्ने चुनौती जति ठूलो छ, सहायक भूमिकाबाट माथि उठ्ने अवसर पनि छ । र, यसका लागि ‘जय हो’को व्यावसायिक सफलता अनिवार्य छ । शुक्रबार र शनिबारको व्यापारले फिल्मको आयु निर्धारण गर्नेछ । सशक्त ‘वर्ड अफ माउथ’को भरमा मात्र ‘जय हो’ले हलमा लामो यात्रा तय गर्न सक्नेछ ।
टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा सलोनका साथै केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको पनि अभिनय छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) तथा राज के अधिकारी छन् । सौरभ लामाको छायांकन रहेको यो फिल्मको लेखन सुरेश न्यौपानेले गरेका हुन् ।