गत असार २१ गते निजी निवासमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता तथा कलाकार सानु ताम्राकारको निधन भएको छ । दुई हप्तादेखि नर्भिक अस्पतालमा उपचारार्थ उनको शनिबार दिउँसो करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोराको निधनपछि सानु विरामी परेका थिए । उनको आइसीयूमा राखेर उपचार भैरहेको थियो ।
ढाड दुख्ने समस्याबाट पीडित उनको उपचारको क्रममा मृगौलामा पनि समस्या देखिएको थियो । उनको निधनले फिल्म क्षेत्र स्तब्ध बनेको छ । फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको आइतबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । चलचित्र कलाकार संघको पूर्व उपाध्यक्ष समेत रहेका ताम्राकार चर्चित जादूगर थिए ।
उनले दर्जनौं फिल्म तथा सिरियलमा काम गरेका छन् । ७४ वर्षको उमेरमा निधन भएका उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराएँ, भूँइमान्छे, मेरी मामु’ आदि फिल्ममा अभिनय गरेका छन् । स्वास्थ्यका कारण उनले पछिल्लो समय फिल्ममा काम गरिरहेका थिएनन् । छोराको निधनपछि उनी विक्षिप्त थिए ।