निर्देशक झरना थापाले पहिलो पटक ‘ए मेरो हजुर’ सिरिजबाट बाहिर आएर फिल्म ‘एक भगवत् गीता’को निर्देशन गरेकी छन्, जुन भदौ २९ गते प्रदर्शन हुँदैछ । पहिला फिल्मको नाम ‘भगवत् गीता’ थियो । पवित्र हिन्दू ग्रन्थ भगवद् गीतासँग नाम मिलेपछि केही हिन्दूवादी संगठनहरुले आपत्ति जनाउँदै चलचित्र विकास बोर्डमा निवेदन समेत दिए । यसपछि फिल्ममा ‘एक’ शब्द थपिएको हो ।
तर, निर्देशक थापाले फिल्मको नाम भगवद् गीता ग्रन्थसँग मिलेको भए पनि त्यसमा आधारित भएर नबनेको प्रष्ट पारेकी छन् । उनी भन्छिन्, ‘फिल्म भगवद् गीताबाट प्रभावित चाहिँ छ । कर्म गर्ने कुरा, ज्ञानका कुरा, भक्तिभावको कुरा, राम्रो कर्म गर्नुपर्छ, सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने कुरालाई फिल्ममा देखाउने प्रयास गरेका छौं । तर, भगवद् गीता ग्रन्थमा चाहिँ फिल्म आधारित छैन ।’
भगवद् गीता ग्रन्थमा कर्मको बारेमा गरिएको व्याख्यालाई फिल्ममा समेट्ने प्रयास गरेको झरनाको भनाई छ । लभस्टोरी कथामा ‘ए मेरो हजुर’को तीनवटा सिरिज बनाएकी झरना यसपटक सामाजिक विषयवस्तुमा फिल्म बनाउने कोशिस गरेकी बताउँछिन् । उनी फिल्म साँच्चै नै भिन्न रहेको दाबी गर्छिन् । किन्नरको भावना र भोगाईमा फिल्म बनाउनु निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।
त्यस्तै, अभिनेत्री सुहाना थापा आफू प्रि-प्रोडक्सनदेखि संलग्न रहेकाले ‘एक भगवत् गीता’ एकदमै प्रिय रहेको बताउँछिन् । हिन्दू धर्म ग्रन्थ भगवद् गीताको ‘ल अफ कर्म’बाट प्रभावित भएर फिल्म बनेको बताउँदै उनले ग्रन्थ पढेर कर्मबारे बुझेका कुरालाई फिल्ममा देखाउने प्रयास गरेको बताएकी छन् । अभिनेता धीरज मगरसँग एकसाथ काम गर्न अत्यन्त रमाइलो भएको सुहानाको अनुभव छ ।