कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो ३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएका उनलाई चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो । बिहान ९ बजेदेखि १० बजेसम्म ताम्राकारको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नीर शाह, भुवन केसी, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, रमेश बुढाथोकी, कृष्ण मल्ल, मोहन निरौला, धीरेन शाक्य, सविन श्रेष्ठ, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायतका फिल्मकर्मीहरु आर्यघाट पुगेका थिए । त्यहाँको माहोल भावविह्वल र स्तब्ध बनेको थियो । ७४ वर्षको उमेरमा निधन भएका ताम्राकार चलचित्र कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत थिए ।
लामो समयदेखि ढाड दुख्ने समस्याबाट पीडित सानु ताम्राकार छोरा (सारुक ताम्राकार)को निधनपछि अस्वस्थ बनेका थिए । साउन १३ गते उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनलाई मृर्गौलासम्बन्धी रोग पनि देखिएको थियो । जादूगर समेत रहेका उनले दर्जनौं फिल्म र सिरियलमा अभिनय गरेका छन् । उनले छोरासँग फिल्म ‘मेरी मामु’मा समेत काम गरेका थिए ।