गत असारमा घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको चिन्ताले अस्वस्थ बनेका उनका पिता सानु ताम्राकारको पनि शनिबार निधन भएको छ । उनीप्रति सामाजिक सञ्जालमा फिल्मकर्मीसँगै शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यसबीच, सारुकको निधन भएपछि विवादमा तानिएकी अभिनेत्री नम्रता श्रेष्ठले बुबा-छोरा दुवैलाई एकसाथ श्रद्धाञ्जली दिएकी छन् ।
उनले सानु ताम्राकार र सारुकको तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै लेखेकी छन्, ‘रेस्ट इन पीस । बैकुण्ठ बास होस् । सम्पूर्ण परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् ।’ नम्रताको पोस्टमा धेरै नकारात्मक कमेन्ट आएका छन् । उनले अहिलेसम्म सारुकलाई समेत सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिएकी थिइनन् । सारुकको निधनपछि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् ।
सारुक र नम्रताले फिल्म ‘ह्यासट्याग माया’मा काम गरिरहेका थिए । फिल्मको छायांकन सेटमा नम्रताले सारुकलाई गाली गरेको घटना फिल्मकै निर्देशक राजीव गुरुङले सार्वजनिक गरिसकेका छन् । नम्रताकै आग्रहमा फिल्ममा सारुकको भूमिका परिवर्तन गरिएको खुलासा समेत निर्देशक गुरुङले गरेका छन् । तर, आफूमाथि लागेका आरोपबारे नम्रताले कुनै प्रतिक्रिया दिएकी छैनन् ।
सारुक र नम्रता प्रेम सम्बन्ध रहेको चर्चा पनि मिडियामा भैरहेको थियो । फिल्मकै तयारीका लागि बुढानिलकण्ठस्थित एउटा घरमा उनीहरु लामो समयदेखि बस्दै आएका थिए । निर्देशक गुरुङका अनुसार, सारुकले नम्रताको निकै हेरचाह र रेखदेख गर्ने गरेका थिए । सारुकको निधनपछि नम्रतामाथि धेरै प्रश्न उठेका छन् । त्यसबारेमा उनले स्पष्टीकरण दिनुपर्ने भन्दै आवाज उठिरहेको छ ।