मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमा भन्छिन्, ‘समाज बुझ्न राजनीतिज्ञले ‘ऐंचो पैंचो’ हेर्नुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2023/08/27

Swastima Khadka, Mukun Bhusal, Barsha Raut

 

यही भदौ १४ गतेबाट प्रदर्शन थालनी गर्न लागेको कृषा चौलागाईं निर्देशित फिल्म ‘ऐंचो पैंचो’ले राजनीतिक विषयलाई मियो बनाएर कथावाचन गरेको छनक ट्रेलरले दिएको छ । ट्रेलरमा चुनावको माहोल र त्यसले सिर्जना गर्ने द्वन्द्वलाई देखाइएको छ । अभिनेत्री स्वस्तिमा खड्का युवा नेताको भूमिकामा रहेको ट्रेलरबाट बुझिन्छ । यसैले उनी फिल्मलाई राजनीतिज्ञले पनि हेर्नुपर्ने तर्क गर्छिन् ।

फिल्म समाजको ऐना रहेको बताउँदै उनी भन्छिन्, ‘कतिपय सन्दर्भमा राजनीतिज्ञले समाजमा नदेखेका कुरा हामीले क्यामेरामार्फत् देखाइरहेको हुन सक्छौँ । त्यसैले ‘ऐंचो पैंचो’ हेर्न म उहाँहरुलाई आग्रह गर्छु ।’ फिल्मको कथा राजनीतिमा आधारित भने नरहेको उनी स्पष्ट पार्छिन् । सामाजिक विषयवस्तुमा फिल्म बनेको र राजनीतिले समाजमा पारेको प्रभावलाई देखाइएको उनको कथन छ ।

त्यस्तै, अभिनेत्री वर्षा राउत फिल्ममा आफ्नो चरित्र छोटो भए पनि सशक्त रहेको दाबी गर्छिन् । ‘मैले काम गरेका धेरैजसो फिल्ममा भूमिका छोटो तर अर्थपूर्ण हुने गर्छ । ‘ऐंचो पैंचो’मा त्यस्तै छ,’ उनी भन्छिन् । अभिनेता मुकुन भुषाल आफूलाई स्क्रिप्ट र चरित्र केही पृथक लागेका कारण काम गरेको बताएका छन् । ‘ऐंचो पैंचो’को कथाले नेपाली समाजको यथार्थ चित्रण गरेको उनको विश्वास छ ।

यस फिल्मका निर्माता विशाल चौलागाईं नेपालबाटै लगानी सुरक्षितमा निश्चिन्त देखिएका छन् । उनले भने, ‘नेपालकै हलबाट कसरी लगानी सुरक्षित गर्ने भन्नेमा हामी केन्द्रित छौँ । फिल्मप्रति दर्शकमा जुनखालको उत्साह देखेका छौं, त्यसबाट लगानी सुरक्षित हुनेमा ढुक्क छौं ।’ उनले धेरै देशमा फिल्मको राइट्स बिक्री भैसकेको दाबी गरे । विशाल निर्देशक कृषा चौलागाईंका सहोदर भाई हुन् ।