कोरोना महामारीभन्दा अघिसम्म नेपालमा ओटीटी प्लेटफर्मलाई गम्भीर रुपमा लिइएको थिएन । एकाध सञ्चालनमा त आएका थिए तर कुनै अस्तित्वमा थिएनन् । कोभिडपछि विश्वमै ओटीटीमा फिल्म तथा सिरिज हेर्ने ट्रेन्ड बढ्यो । नेपालमा पनि ओटीटी प्रयोगकर्ता बढे । कोभिडकै समयदेखि एकाएक चर्चामा आएको सिनेमाघर एप अहिले नेपालकै सबैभन्दा ठूलो ओटीटी प्लेटफर्म बनेको छ ।
अघिल्लो वर्षको सुपरहिट फिल्म ‘कबड्डी ४’ रिलिजपछि सिनेमाघर एपप्रति दर्शकसँगै मेकरको आकर्षण बढेको छ । यही शुक्रबार फिल्म ‘महापुरुष’ पनि उक्त एपमा रिलिज भैसकेको छ । चाँडै ‘जारी’ फिल्म पनि रिलिज हुने जानकारी प्राप्त छ । तर, सिनेमाघर एप आफैंले फिल्म तथा सिरिज निर्माण भने गर्न सकिरहेको छैन । जसले गर्दा हलबाट उत्रिएका फिल्म मात्र रिलिज भैरहेका छन् ।
तर, अब चाँडै फिचर फिल्म तथा सिरिजहरु निर्माण गर्ने योजना रहेको एपका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी गराएका छन् । ‘कबड्डी ४’, ‘जय ‘भोले’, ‘महापुरुष’ मेरो सर्कलको फिल्महरु हुन् । त्यसले गर्दा हामीलाई फाइदा चाहिँ भएको छ । तर, त्यो भन्दैमा हामी ढुक्कसँग बसेर पनि हुन्न । हामी फिचर फिल्म, सिरिज तथा कमेडी शोहरु निर्माणको तयारीमा जुटिसकेका छौं,’ उनले भने ।
केही महिनामै हरेक १५/१५ दिनमा नयाँ फिल्म रिलिज गर्ने तयारी पनि भैरहेको उनले जानकारी गराए । अहिले एपमा युट्युबबाट भन्दा राम्रो कमाई हुने अवस्था आइरहेको समेत उनको दाबी छ । उनी भन्छन्, ‘मलाई एपमा फिल्मले गरेको कलेक्सन रिपोर्टबारे जानकारी हुँदैन । त्यो हेर्ने बेग्लै टिम छ । एउटा कुरा चाहिँ के भन्न सक्छु भने युट्युबमा भन्दा राम्रो कमाई एपमा हुन थालिसक्यो ।’