डेब्यू फिल्म ‘ए मेरो हजुर ३’बाटै ‘स्टार’को ट्याग पाएकी सुहाना थापा ‘स्टार किड्स’ हुन् । आमा झरना थापा (अभिनेत्री)को लिगेसी पछ्याउँदै अभिनयमा आएकी उनले घरभित्रका तीनटा फिल्ममा काम गरिसकेकी छन् । ‘ए मेरो हजुर ४’ पनि उनकै मुख्य भूमिका थियो । आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको झरना निर्देशित फिल्म ‘एक भगवत् गीता’मा पनि उनी स्वयंको अभिनय छ ।
‘ए मेरो हजुर ३’पछि उनलाई बाहिरका धेरै फिल्मबाट प्रस्ताव पुगे । उनले केही फिल्मको स्क्रिप्ट पनि पढिन् । तर, उनी घरभित्रको फिल्मबाट बाहिर निस्कन सकेकी छैनन् । उनका पिता तथा निर्माता सुनिल कुमार थापाले झन्डै २ वर्षअघिदेखि अध्ययनका कारण सुहानाले बाहिरको फिल्म गर्न नसकेको बताउँदै आएका छन् । तर, घरभित्रको फिल्म गर्न भने सुहानालाई पढाईले रोकेको छैन ।
उनले पढाईका कारण अझै डेढ वर्ष बाहिरको फिल्म नगर्ने भएकी छन् । शनिबार पत्रकारसँगको कुराकानीमा निर्माता थापाले भने, ‘सुहानालाई घरबाहिरको फिल्ममा काम गर्न नदिएको भन्ने होइन । उसको पढाईले गर्दा हो । अबको डेढ वर्षपछि उसलाई जसले फिल्ममा काम गराए पनि हुन्छ । अब उसले एउटा मात्र घरको फिल्म गर्न सक्छ । त्यसबेलासम्म उसको पढाई पनि पूरा भैसक्छ ।’
‘एक भगवत् गीता’ रिलिजपछि सुहानाले घरभित्रकै ‘ए मेरो हजुर ५’मा काम गर्न सक्ने सम्भावना छ । फिल्ममा आउनुभन्दा अगाडि उनले अमेरिकामा अध्ययन गरिरहेकी थिइन् । अघिल्लो वर्ष उनले जोर्ज मेसन यूनिभर्सिटीबाट मनोविज्ञान विषयमा ग्रयाजुएसन पूरा गरेकी छन् । फिल्मी माहोलमा हुर्किएकी उनले ‘ए मेरो हजुर’को दुई श्रृंखलाबाटै अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी छन् ।