कमर्शियल र आर्ट हाउस दुवै फिल्ममा भिजेका कलाकार नेपालमा सीमित छन् । स्टार कहलिएका कलाकारको त आर्ट हाउसका फिल्म खासै रोजाईमा नै पर्दैन । किनकि, यसलाई व्यावसायिक रुपमा ठूलो जोखिमपूर्ण मानिन्छ । तर, अभिनेत्री स्वस्तिमा खड्का यी दुवै धारका फिल्ममा जमेकी छन् । उनले ‘छक्का पञ्जा’ जस्तो कमर्शियल र ‘बुलबुल’ जस्तो आर्ट हाउसका फिल्म गरेकी छन् ।
उनी आफूप्रति बनेको मानक हरेक फिल्मबाट भत्कनुपर्छ भन्ने मान्यता राख्छिन् । उनलाई आफू यो वा त्यो प्रकारको कलाकार हो भनेर हेरिनु हुँदैन भन्ने लाग्छ । स्वस्तिमा भन्छिन्, ‘कलाकार भएपछि ‘सेल’मा राखेर हेर्नु हुँदैन । मैले ‘बुलबुल’ गर्दा धेरैले कमर्शियल फिल्म गरिरहेको समयमा यो प्रकारको फिल्म गर्नुहुँदैन भन्नुभयो । फेरि ‘बुलबुल’ गरेपछि मलाई सिरियस एक्टर सोच्न थाल्नुभयो ।’
‘बुलबुल’पछि आफूलाई धेरैले अब ‘छक्का पञ्जा’ वा ‘नाईं नभन्नू ल’ जस्तो फिल्म नगर्न सुझाव दिएको उनी स्मरण गर्छिन् । तर, उनी ‘बुलबुल’ र ‘छक्का पञ्जा’ जस्तो फिल्म किन गरिरहेको छु भन्नेमा स्पष्ट छिन् । ‘छक्का पञ्जा’ जस्तो फिल्म गर्दा त्यहाँको २/४ जना दर्शक ‘बुलबुल’ जस्ता फिल्म तान्न सकिन्छ कि भन्ने लाग्छ स्वस्तिमालाई । यसैले उनलाई दुवै शैलीका फिल्ममा काम गर्न मनपर्छ ।
‘मैले ‘बुलबुल’ जस्तो फिल्ममा दुईजना भए पनि दर्शक तान्न सक्छु कि भन्ने हिसाबले ‘छक्का पञ्जा’ वा ‘नाईं नभन्नू ल’ जस्तो फिल्ममा काम गरेको हुन्छु । कमर्शियल फिल्म वृहत् मासमा जाने हुँदा त्यहाँको केही दर्शक ‘बुलबुल’ जस्ता फिल्ममा ल्याउन सकिए राम्रो हुन्छ भन्ने सोचेर काम गर्छु,’ उनी भन्छिन्, ‘मलाई कसैले पनि ‘कुटुमा कुटु’ या ‘बुलबुल’की हिरोइन मात्र भनेर नचिनुन् भन्ने लाग्छ ।’
उनलाई हरेक फिल्म व्यावसायिक हिसाबले जोखिमपूर्ण लाग्छ । ‘हाम्रो मार्केट सानो भएकाले जुनसुकै फिल्म रिक्स हो जस्तो लाग्छ । ‘ऐंचो पैंचो’ हामीले जति नै कमर्शियल हो भने पनि यो आफैंमा एउटा रिक्स हो । जम्मा १/२ प्रतिशतले त फिल्म हेर्नुहुन्छ, त्यो पनि मेकर हेरेर । त्यसैले हरेक फिल्म रिक्स नै हुन्छ,’ उनी भन्छिन् । स्वस्तिमा अभिनीत फिल्म ‘ऐंचो पैंचो’ भदौ १४ गते प्रदर्शन हुँदैछ ।