फिल्मसम्बन्धी अवार्डमा सबैभन्दा महत्त्वपूर्ण विधा भनेकै ‘उत्कृष्ट फिल्म’ हो । तर, फिल्म क्षेत्रकै अभिभावक संस्था चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति कार्यालयमा गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उक्त विधामा अवार्ड नै बाँडिएन । जसका कारण राष्ट्रिय अवार्ड विवादमा तानिएको छ । ‘उत्कृष्ट फिल्म’को विधा नै नसमेटिएको अवार्डको कुनै औचित्य नहुने भन्दै टिप्पणी भैरहेको छ ।
राजेन्द्र सलभ संयोजक रहेको जुरी कमिटीले भने बोर्डलाई ‘उत्कृष्ट फिल्म’को नाम बुझाएको थियो । उक्त विधामा ‘प्रकाश’को नाम सिफारिस थियो । तर, जुरीले गरेको निर्णयमा बोर्डको तालुकवाला निकाय सञ्चार मन्त्रालयले हस्तक्षेप गरिदियो । ‘प्रकाश’को नाम ‘उत्कृष्ट फिल्म’मा परेपछि सञ्चार मन्त्रालयले बोर्डबाट फिल्म नै मगाएर हेरेको थियो । त्यसपछि कथाले नयाँ रुप लिएको बताइन्छ ।
‘प्रकाश’ले माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको कथालाई उठाएको छ । माओवादी युद्धको जगमा व्यवस्था परिवर्तन भए पनि अवस्था त्यूँकात्यूँ छ भन्ने सन्देश फिल्मले दिन्छ । केही दृश्यमा माओवादीको झण्डा समेत प्रयोग छ । फिल्म रिलिजकै समयमा माओवादीका एक नेताले फिल्मको विषयवस्तुप्रति आपत्ति जनाएका थिए । अन्ततः ‘प्रकाश’लाई ‘उत्कृष्ट फिल्म’ मान्न राज्य डरायो ।
त्यसमाथि अहिले माओवादीले नै सरकारको नेतृत्व गरेको छ । र, बोर्डको तालुकवाला निकाय सूचना मन्त्रालय पनि माओवादीले नै सम्हालेको छ । यसैले मन्त्रालयले ‘प्रकाश’लाई उत्कृष्ट फिल्म मान्न नसकिने भन्दै नाम काटेर पठाएको स्रोतको भनाई छ । जुरीले सिफारिस गरेको फिल्मको नामलाई सञ्चार मन्त्रालयले काटेपछि बोर्डले ‘उत्कृष्ट फिल्म’ नै गायब बनाएर अवार्ड आयोजना गर्यो ।
फिल्म अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम हो । तर, राज्यबाटै यसलाई निरुत्साहित र कुण्ठित गर्ने काम भएको छ । सरकारमा रहेको पार्टीलाई नकारात्मक रुपमा चित्रण गरिएको भन्दै उत्कृष्ट फिल्मबाटै नाम हटाउनु सिर्जनशीलतामाथि प्रहार रहेको निष्कर्ष फिल्मकर्मीहरुको छ । कतिपयले यसलाई फिल्मप्रति राज्यले आफ्नो नियन्त्रण बनाउन थालेको संकेतको रुपमा पनि लिएका छन् ।