अभिनेता सारुक ताम्राकारको निधनपछि फिल्म ‘ह्यासट्याग माया’को निर्माण अन्योल बनेको छ । ४० प्रतिशत छायांकन सकिँदा ५ करोड खर्च भएको दाबी निर्माण टिमले गरेको छ । अब फिल्मको निर्माण नै असम्भव देखिन्छ । निर्देशक तथा निर्माता राजीव गुरुङले सारुकको निधनपछि फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठको विषयमा दिएको अन्तर्वार्ताले टिमभित्र ठूलो उथल-पुथल ल्याएको छ । यसपछि नम्रता र फिल्मको टिमबीच सम्पर्क समेत भएको छैन ।
निर्देशक गुरुङले अन्तर्वार्तामा फिल्मको सेटमा नम्रताले सारुकलाई हप्काएको, नम्रताको आग्रहमा सारुकको भूमिका हेरफेर गरिएको, उनकै आग्रहमा फिल्मको निर्माण र प्रदर्शनको सफलताका लागि दोलालघाटको मसानघाटमा बोका पूजा गरेर बलि दिइएको, पूजाआजापछि सारुक र आफूले कालो बुटी लगाएको घटना सार्वजनिक गरेका थिए । तर, नम्रताले सोमबार फेसबुकमा स्टाटस लेख्दै बोका र बुटीको कुरालाई फण्डाको संज्ञा दिइन् ।
नम्रताले तन्त्रमन्त्रको कुरालाई अस्वीकार गरेपछि निर्देशक गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेर आफूलाई बारम्बार भनिएपछि फलस्वरुप ५ लाखको पूजा गराइएको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । जति प्रयास गर्दा पनि फिल्मको काम अघि नबढेपछि नायिकाको आग्रहमा आफू तान्त्रिकबाट पूजा गर्ने मनस्थितिमा पुगेको उनको भनाई छ ।
उनी लेख्छन्, ‘फिल्मको स्क्रिप्ट उनीहरूकै मन्जुरीमा बारम्बार पास भएर एक तहको प्राविधिकहरुले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरियो । म कुनै पनि रुढिबादी परम्परामा विश्वास गर्ने मानिस होइन तर जति प्रयास गर्दा पनि फिल्म अघि नबढेकाले नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि यत्तिका प्रयास त गरेँ यो प्रयास पनि गरी हेरौं भन्ने मनस्थितिमा पुगेको हुँ ।’
नम्रताले स्टाटसमा महिला भएकै कारण आफूमाथि आक्रमण भैरहेको बताएकी थिइन् । तर, निर्देशक गुरुङले महिला भएकै कारण सधैं ठीक र पुरुष भएकै कारण सधैं बेठीक नहुने जवाफ दिएका छन् । ‘महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ती महिला हुन् स्वर्गीय सारुककी आमा, जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यही तोडमा श्रीमानले पनि संसार छाडेपछि अथाह वेदनामा छिन्,’ उनले लेखेका छन् ।
फिल्म निर्माणको दौरान आफूले मुख्य कलाकारले राखेका हरेक डिमाण्ड पूरा गरेको र विगत ३ वर्षदेखि नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुँदै बुढानिलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पूर्ण खर्च आफैंले व्यहोरेको समेत उनको दाबी छ । क्यारेक्टरमा बस्नका लागि एकान्तमा छुट्टै घर आवश्यक पर्छ भनिएपछि आफूले ४५ दिनका लागि सोचेर मञ्जुरी दिएको तर कलाकारहरुको मनसाय जति सक्दो फिल्मको समय लम्बाउने र त्यही घरमा बसिरहने रहेको उनले बताएका छन् ।
फिल्मका लागि भाडामा लिइएको घरबाट केही शंकास्पद वस्तु प्रहरीले लिएर गएको पनि उनले उल्लेख गरेका छन् । सारुकको जीवनअघि आफ्नो फिल्म केही नभएको बताउँदै उनले सारुकले न्याय पाउनुपर्ने माग गरेका छन् । उनी लेख्छन्, ‘मेरो सपना, लगानी र मिहिनेत सारुकको जीवनको अघि केही होइन, त्यसैले सारुकले न्याय पाउनुपर्छ । सारुक भाईको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउनुपर्छ । अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुनुपर्छ ।’