मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रिय अवार्ड विवाद : जुरी सदस्यको टिप्पणी- ‘बिहे त भयो तर बेहुली माईतीमै रोकिइन्’

फिल्मीखबर, काठमाडौं, 2023/08/30

हुन त अवार्ड विवादमा पर्नु नौलो होइन । संसारकै सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार अवार्ड समेत विवादरहीत हुन सकेको छैन । नेपालमा आयोजना हुने अवार्ड त विवादका पर्याय नै भैसकेका छन् । राज्यको निकाय चलचित्र विकास बोर्डले राष्ट्रपतिबाट प्रदान गर्ने राष्ट्रिय अवार्ड समेत कुनै न कुनै कारणले हरेक पटक विवादमा आइरहेको हुन्छ । र, यसपटक पनि विवादरहीत हुन सकेन ।

 

Anup Bhattarai


मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको राष्ट्रिय अवार्डबाट मुख्य विधा (उत्कृष्ट फिल्म) नै गायब भयो । अवार्डमा मुख्य विधा गायब भएको संसारमै पहिलो पटक हो । यसले राष्ट्रिय अवार्डको इज्जतलाई नै लिलाम गरेको छ । मुख्य विधा नसमेटिएपछि अवार्डको जुरी कमिटी नै ‘सरप्राइज’ भएको छ । जबकि, ५ सदस्यीय जुरी टिमले उत्कृष्ट फिल्मको नाम बोर्डलाई बुझाएको थियो ।

तर, बोर्डले उत्कृष्ट फिल्मको विधा नै हटाएर अवार्ड गरेपछि जुरी कमिटी असन्तुष्ट देखिएको छ । जुरीका संयोजक राजेन्द्र सलभले असहमति जनाउँदै कार्यक्रममै सहभागी भएनन् । उक्त कार्यक्रममा उपस्थित जुरी सदस्य तथा चलचित्र पत्रकार अनुप भट्टराईले भने निर्णायक टिमले बुझाएको उत्कृष्ट फिल्मको निर्णयलाई चलचित्र विकास बोर्डले वितरण नगर्नुको कारणबारे प्रश्न गरेका छन् ।

‘फरक कोण’ नामले परिचित उनी फेसबुकमा लेख्छन्, ‘पाँच सदस्य निर्णायक टिमले बुझाएको ‘बेष्ट फिल्म’को निर्णयलाई चलचित्र विकास बोर्डले किन वितरण गरेन ? बिहे त भयो, गर्धुवाहरु पनि जन्तीसँगै पुगे तर बेहुली चाहिँ माईतीमै रोकिइन् जस्तो भयो यो एउटा अवार्ड रोकिँदा ।’ यद्यपि, जुरी सदस्यमा रहेर काम गर्ने अनुभव आफ्नो लागि स्मरणीय रहन पुगेको अनुपले बताएका छन् ।

 

anup bhattrai


जुरी टिमले उत्कृष्ट फिल्ममा ‘प्रकाश’को नाम सिफारिस गरेर बोर्डलाई बुझाएको थियो । तर, यस फिल्मले सरकारमा रहेको पार्टी माओवादीलाई नकारात्मक रुपमा चित्रण गरेको भन्दै बोर्डको तालुकवाला निकाय सञ्चार तथा सूचना मन्त्रालयले उक्त फिल्मलाई उत्कृष्ट मान्न नसकिने निर्णय गर्‍यो । मन्त्रालयले नाम काटेर पठाएपछि बोर्डले उत्कृष्ट फिल्मको विधा हटाएर अवार्ड बाँडेको हो ।