गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’पछि कुनै नेपाली फिल्मले घरेलू बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् । गत असारमा प्रदर्शित फिल्म ‘बगान’ले भने बजेट सानो हुँदा जेनतेन लगानी सुरक्षित गर्यो । अब भदौका फिल्मप्रति ठूलो अपेक्षा राखिएको छ । तर, अघिल्ला दुई हप्ताका चार नेपाली फिल्मले गरेको व्यापारले भने केही हदसम्म निराश तुल्याएको अवस्था छ ।
अब यही बिहीबार अर्थात् जनै पूर्णिमाबाट फिल्म ‘ऐंचो पैंचो’ प्रदर्शन हुँदैछ । ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको फिल्ममा बलियो स्टारकास्ट छ । प्रचार पनि राम्रो रहेकाले फिल्मको ओपनिङ सुखद हुनसक्ने प्रक्षेपण गरिएको छ । हल व्यावसायीहरुको समेत यो फिल्मप्रति ठूलो अपेक्षा देखिएको छ । यसैले हुनसक्छ, देशका प्रायः मल्टीप्लेक्सहरुले फिल्मलाई राम्रो शो दिएका छन् ।
देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई २५ शो बाँड्दा दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाज्ले दुईटा हलमा ३/३ शो दिएको छ । त्यस्तै, एफक्युब सिनेमाज् र रञ्जना सिनेप्लेक्सले ४/४ शो, वान सिनेमाज्ले ५ शो, सिके सिनेमाज्, बिएसआर र बिग मुभिजले ३/३ शो, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी र क्यूज सिनेमाज्ले समान २/२ शो दिँदै बुकिङ खुलाएका छन् ।
निर्मात्री कृषा चौलागाईंको पहिलो निर्देशकीय फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको अभिनय रहेको छ । अभिमन्यू निरवीको लेखन रहेको ‘ऐंचो पैंचो’मा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा छन् ।