‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्डब्रेक’ सफलतापछि दयाहाङ राई र मिरुना मगरको जोडी सर्वाधिक डिमाण्डमा छ । र, दुवैले यस वर्ष केही फिल्ममा एकसाथ काम गर्दैछन् । यसबीच, उनीहरुबीच सहकार्य भएको तेस्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको एउटा गीत र टिजर/ट्रेलर सार्वजनिक भइसकेको अवस्थामा एक गीत भने यसै हप्ता छायांकन गरिएको छ ।
तीन दिनसम्म चित्लाङ क्षेत्रमा खिचिएको ‘सुन सुन सुन्दरी’ बोलको गीतमा दयाहाङ र मिरुना प्रस्तुत छन् । निर्माण टिमले उपलब्ध गराएको गीत छायांकनका तीन तस्वीरमा उनीहरु रोमान्टिक भावमा देखिन्छन् । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिंगेदलको शब्द र सुशान्त गौतमको संगीत छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा आलोक शुक्लाको छायांकन छ ।
फिल्मको लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन् । निर्देशक लामाले केही दिनमा नै गीतको भिडियो सार्वजनिक गर्ने बताए । बनिष शाहको सम्पादन रहेको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्ममा शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी आरएल शाह, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी आदिको पनि अभिनय छ ।