दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘दुई चुल्ठी बाटन’ बोलको गीतमा निशान भट्टराई र मेलिना राईको युगल स्वर रहेको छ भने बी पाण्डेको शब्द रचना र सुभाष भुषालको संगीत छ । लोक शैलीको छनक दिने गीतमा फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री आँचल शर्माको नृत्य प्रस्तुत छ ।
पशुपतिनाथ परिसरमा छायांकन गरिएको गीतमा आँचललाई अभिनेत्रीकै रुपमा प्रस्तुत गरिएको छ । उनले एक गीतको छायांकन गरिरहेकी हुन्छिन् । र, सुटिङ हेर्न पुगेका भष्मे डन (विपिन) आफू हिरो भएर आँचलसँग नृत्य गरेको कल्पनामा डुब्छन् । प्रविन सिंहको नृत्य निर्देशन रहेको गीतमा विपिनको गेटअप र नृत्य शैली रोचक छ । गीतको अडियो र भिडियो दुवै पक्ष प्रशंसनीय छ ।
खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्ममा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भूमिकामा छन् । आँचल फिल्मको ‘दुई चुल्ठी बाटन’ गीतमा मात्र छिन् ।
फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, किरण भुषाल, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ । पशुपति प्रसाद चरित्रको मृत्युपछि पशुपति क्षेत्रमा अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा पात्रको प्रवेशपश्चात् सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म केन्द्रित रहेको जनाइएको छ ।
सात वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण भएको फिल्म आगामी दशैंमा प्रदर्शनमा आउँदैछ । तर, अहिलेसम्म प्रदर्शन मिति यकिन भैसकेको छैन । फिल्मले फूलपाती या घटस्थापनामध्ये एउटा रोज्न सक्नेछ । निर्देशक खनालले अर्थपूर्ण सिक्वेल बनेको दाबी गरेका छन् । फिल्ममा विपिनले भष्मे डनको चरित्र निभाएका छन् ।