फिल्म ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा गरेको बलशाली अभिनयले मुकुन भुषाललाई अब्बल श्रेणीको कलाकारको रुपमा स्थापित गर्यो । गत वर्ष फिल्म ‘झिँगेदाउ’ सफल भएपछि उनीप्रति मेकरको आकर्षण थप बढेको छ । अहिले उनको पाइपलाइनमा ज्ञानेन्द्र देउजाको ‘उपहार’, मधुसूदन भट्टराईको ‘दौँतरी’ र विकास गिरीको ‘बिजुली’ रहेका छन् । यो सूची अर्को फिल्म पनि थपिएको छ ।
चलचित्र पत्रकार संघका महासचिव तथा निर्माता रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको एक फिल्ममा मुकुन मुख्य भूमिकामा अनुबन्ध भएका छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मिलन मिश्रको पनि अभिनय रहनेछ । उनले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । मुकुन र मिलनको अपोजिटमा दुईजना अभिनेत्रीको खोजी भैरहेको निर्माता सापकोटाले बताए ।
नविन भट्टको डेब्यू निर्देशनमा बन्न लागेको फिल्ममा सुनील निउरेको पटकथा तथा संवाद रहनेछ । कथा रघुनाथ सापकोटा स्वयंको हो । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहने यस फिल्ममा अर्जुन पोखरेलले संगीत भर्नेछन् । केही दिनमा चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गर्ने तयारी भैरहेको जानकारी दिँदै निर्माता सापकोटाले आगामी असोज पहिलो साताबाट छायांकन सुरु गरिने बताए ।