करिब ५ वर्षदेखि पर्दामा देखिएका अभिनेता राजेश हमाल कुनै न कुनै माध्यमबाट दर्शकमाझ भने पुगिरहेका छन् । चाहे म्यूजिक भिडियोबाट होस् या रियालिटी शो । उनले सञ्चालन गरेको ‘को बन्छ करोडपति ?’ राम्रो चर्चामा आएको थियो । यसपछि हमालले ‘जातको प्रश्न’ नामक टीभी शो चलाए । अब उनी कृषिसम्बन्धी एक रियालिटी शोमा ‘मास्टर होस्ट’को रुपमा देखिने भएका छन् ।
विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो भनिएको ‘रिभोलुसनरी एग्रिकल्चर वार (र)को बिहीबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाइएको रियालिटी शोको परिकल्पना कृषि र मनोरञ्जन गरी दुई विधालाई समेटेर गरिएको छ । शोमा किसान र कृषि प्राविधिकले भाग लिने कार्यक्रममा जानकारी गराइयो ।
शैलेस कँडेल क्षेत्रीले निर्देशन गर्ने शोमा राजेश हमाल मास्टर होस्टको रुपमा रहनेछन् भने ग्राण्ड जजको रुपमा डा. योगेन्द्र कुमार कार्की र डा. नम्रता पाण्डे छन् । कार्यक्रममा बोल्दै हमालले नेपाललाई विकासतर्फ अगाडि बढाउन व्यवसायिक कृषिसँगै कृषि क्रान्ति अपरिहार्य रहेको धारणा राखे । अब आफू किसानको वास्तविक क्रान्तिमा सहभागी हुन लागेकोमा उनले खुसी व्यक्त गरे ।
उनले भने, ‘अभिनय यात्रामा कयौंपटक म किसानको भूमिकामा देखिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफूलाई ओजिलो महसुस गरेको छु । वर्षौंदेखि कृषि क्रान्तिको गफ गरेको सुनिएको थियो अब भने यो कार्यक्रममार्फत् साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने विश्वास लिएको छु । यस्तो कार्यक्रमलाई राज्यको निकायले अपनत्व लिनुपर्छ जस्तो लाग्छ ।’
निर्देशक क्षेत्रीले यो शो किसान र कृषि प्राविधिकहरुबीचको प्रतिस्पर्धा नभएको प्रष्ट्याएका छन् । किसानले किसानसँगै प्रतिस्पर्धा गर्ने र एकजना विजेता बन्ने र प्राविधिकले प्राविधिकसँगै प्रतिस्पर्धा गर्ने र एकजना विजेता बन्ने कार्यकारी निर्माता विजय बस्यालले जानकारी गराए । यो शोको उद्देश्य सकारात्मक मानसिकता विकास गरी सुखी तथा समृद्ध राष्ट्र बनाउने रहेको उनको भनाई छ ।