नेपाली फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू)को कथालाई विरलै मात्र भनिएको छ । चुनौतीपूर्ण विषय भएकाले पनि हत्तपत्त कोही मेकरले आँट गर्दैनन् । लभस्टोरीमा विशेष दख्खल भएकी निर्देशक झरना थापाले भने फिल्म ‘एक भगवत् गीता’मार्फत लैंगिक अल्पसंख्यक समुदायको कथालाई सशक्त ढंगले प्रस्तुत गर्न खोजेको छनक ट्रेलरले दिएको छ ।
बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा लैंगिक अल्पसंख्यकलाई समाज तथा परिवारले गर्ने तिरस्कारका साथै समानता र न्यायको लडाईंलाई देखाइएको छ । अभिनेता विपिन कार्कीको चरित्रले यो समुदायको प्रतिनिधित्व गरेको छ । ट्रेलरमा अन्य कलाकारभन्दा उनी बढी हाबी छन् । उनको लुक्स र डाइलग डेलिभरी सशक्त छ । उनी कमलामाई अवतारमा प्रस्तुत छन् ।
ट्रेलरमा सुहाना थापा र धीरज मगरबीचको प्रेम र रोमान्सलाई पनि समेटिएको छ । लैंगिक अल्पसंख्यक समुदायको कथालाई मियो बनाएर फिल्मले सुहाना र धीरजको अन्तरजातीय प्रेमकथालाई वाचन गरेको ट्रेलरले प्रष्ट्याउँछ । अनुराग कुँवर र कबीर खड्का एन्टागोनिस्ट अर्थात् भिलेनको रुपमा चित्रित छन् । २ मिनेट ५० सेकेण्डको ट्रेलरले फिल्मको दृश्यभाषा सशक्त रहेको संकेत गर्छ ।
यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ ।
राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्माता सुहाना थापा हुन् । ट्रेलर रिलिज कार्यक्रममा विपिन कार्कीले आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण र यादगार चरित्र ‘कमलामाई’ रहेको बताए । यो पात्रले आफूलाई लैंगिक अल्पसंख्यक समुदायलाई चिन्न र बुझ्न सघाएको उनको भनाई छ ।