गत असार २१ गते निजी निवासमा मृत अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको न्यायका लागि कलाकारहरु सडकमा उत्रिने भएका छन् । भोलि शनिबार साढे १२ बजे काठमाडौंको माइतीघर मण्डलामा कलाकारहरुले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हुन् । सडक प्रदर्शनमार्फत् सारुकको निधनमा संलग्नलाई कारवाहीको माग गर्दै सरकार र प्रहरीलाई दबाब दिइने जनाइएको छ ।
सारुकलाई आत्महत्या गर्न बाध्य पारिएको आशंका उनको परिवार र कलाकारहरुको छ । एक महिनाअघि एक महिलाको नाममा किटानी जाहेरी दिन सारुकको परिवार जिल्ला प्रहरी परिसर (टेकु) पुगेको थियो । तर, प्रहरीले सुरुमा (सारुकको निधनकै दिन) दिएको निवेदनकै आधारमा अनुसन्धान भैरहेकाले जाहेरी दिन आवश्यक नरहेको भन्दै उनको परिवारलाई फर्काइदिएको थियो ।
सारुकको निधनको चिन्ताले बिरामी परेका उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि गत शनिबार निधन भएको छ । अब उनको परिवारमा आमा (रुकमणि) मात्र छिन् । सारुककी आमाले समेत छोराको न्यायको माग गरिरहेकी छन् । प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको गुनासो चौतर्फी सुनिन थालेका छन् । प्रहरीले भने अनुसन्धानको काम जारी रहेको दाबी गरिरहेको छ ।