यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’को शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरियो । तर, फिल्मका मुख्य अभिनेता धीरज मगर भने उपस्थित भएनन् । आँखा पाकेका कारणले उनी उपस्थित हुन नसकेको जानकारी गराइएको थियो । तर, निकट स्रोतका अनुसार केही समयदेखि धीरजसँग फिल्मको टिमको सम्पर्क नै हुन सकेको छैन ।
निर्देशक झरना थापासँग धीरज असन्तुष्ट रहेको बताइन्छ । मुख्य भूमिकामा लिएर केमियोमा सीमित बनाइएको भन्दै उनी असन्तुष्ट रहेको चर्चा छ । ट्रेलरमा उनले पाएको कम ‘स्क्रिन स्पेश’ले पनि संशय सिर्जना गर्छ । अभिनेता विपिन कार्की हाबी रहेको ट्रेलरमा धीरज छायाँमा परेका छन् । यसैले उनी फिल्मको टिमसँग टाढिँदै गएको र प्रचारमा पनि हिँड्ने सम्भावना न्यून रहेको गाइँगुइँ छ ।
तर, धीरजलाई रोलमा खुम्चाइएको भन्ने चर्चालाई झरना अस्वीकार गर्छिन् । उनी भन्छिन्, ‘एउटा रोल देखाएर अर्को गराउने भन्ने नै हुँदैन । अहिले स्क्रिप्ट बिना कोही कलाकारले काम गर्दैनन् । त्यसरी झिक्याएर ठूलो रोल भनेर सानो रोल दिएको पक्कै पनि होइन । उहाँ आँखा पाकेको कारणले यो कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।’ झरनाले धीरजसँग सम्बन्ध नबिग्रिएको पनि दाबी गरिन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा धीरज उपस्थित नहुनुको कारण अस्वस्थता देखाइए पनि उनी सोही दिन घुमफिरका लागि कुलेखानी पुगेको स्रोत बताउँछ । यो समाचार तयार पार्दासम्म उनले ट्रेलर समेत सामाजिक सञ्जालमा सेअर गरेका छैनन् । यसले पनि उनी फिल्मको टिमसँग तीव्र असन्तुष्ट रहेको भन्ने चर्चामा बल पुर्याउँछ । यद्यपि, उनको करिअरका लागि यो फिल्म चल्नैपर्ने दबाब छ ।