अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो । नीताले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् बुबाको निधन भएको जानकारी गराएकी छन् । उनका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । बाल्यकालमै आमाको न्यानो काख गुमाएकी नीता बुबासँग अत्यन्त नजिक थिइन् ।
उनले गत वर्ष आफ्नो नामको युट्युब च्यानलमा राखेको बुबाको मुख हेर्ने दिनको भिडियोमा बुबाको दीर्घायुको कामना गर्दै भनेकी थिइन्, ‘यसपालि बुबाको मुख हेर्न मज्जाले पाइयो । अझै वर्षौं वर्षसम्म पनि बुबाको मुख हेर्न पाइयोस् ।’ तर, यसपालि कुशे औंसी (बुबाको मुख हेर्ने दिन)को ११ दिनअघि उनले बुबा गुमाएकी छन् । नीताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जली दिएकी छन् ।
बुबाको साथ र हौसलाले सानै उमेरदेखि अभिनयमा होमिएकी नीताको अहिले तन-मन होम प्रोडक्सनको फिल्म ‘ह्रस्व दीर्घ’मा छ । यो फिल्मको केही प्रतिशत छायांकन भैसकेको छ भने बाँकी दशैंपछि सुरु हुन सक्नेछ । ‘ह्रस्व दीर्घ’ले गर्दा उनले प्रस्ताव आएका केही फिल्म समेत छाडेकी छन् । अभिनयमा आफूलाई अब्बल सावित गरेकी उनले ‘राष्ट्रिय अवार्ड’ समेत प्राप्त गरिसकेकी छन् ।