नेपाली फिल्ममा लामो समयदेखिको खडेरीलाई जनैपूर्णिमाबाट प्रदर्शनमा उत्रिएको फिल्म ‘ऐंचो पैंचो’ले केही हदसम्म चिर्ने प्रयास गरेको छ । प्रदर्शनको पहिलो दिन दिवा शोदेखि दर्शकको सुखद साथ पाएको फिल्मले शुक्रबार र शनिबार पनि कमजोर प्रदर्शन गरेन । शुक्रबार मध्यम रहेको फिल्मको व्यापार शनिबार केही राम्रो रह्यो । सम्रगमा फिल्मको तीन दिनलाई सुखद मानिएको छ ।
विशेषगरी काठमाडौंका मल्टीप्लेक्सहरुमा शनिबार दिउँसोको शोमा दर्शक अकुपेन्सी ५०/५५ प्रतिशत आसपास र रात्रिकालिन शो ८० प्रतिशतमाथि थियो । शनिबार फिल्मको कमाई काठमाडौंबाहिर पनि सुखद रहेको वितरक कम्पनी आरआर फिल्म्सको दाबी छ । फिल्म हेर्न हलमा युवापुस्ताका दर्शक बढी देखिएका थिए । फिल्मको ‘काले केटाले’ गीतले पनि धेरै दर्शक तानेको देखिन्थ्यो ।
शनिबार निर्देशक कृषा चौलागाईं चारजना कलाकार (वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम पौडेल र सुशील सिटौला)को साथमा हाउसफुल रहेका काठमाडौंको सिभिल मल, छायाँ सेन्टर र बिग मुभिजमा दर्शक प्रतिक्रिया बुझ्न पुगेकी थिइन् । दर्शकहरु गीतमा हलभित्रै नाचेका थिए भने केही इमोसनल दृश्यमा गहभरी भएका थिए । जसले निर्देशक चौलागाईं र वर्षालाई पनि भावुक बनायो ।
कृषाले गहभरी हुँदै भनिन्, ‘फिल्मको सिते (सुशील सिटौला) क्यारेक्टरलाई अपनत्व गरेर दर्शक रुनुभएको देख्दा म इमोसनल भएँ । दर्शकहरुको यो किसिमको साथ र मायाले आफूलाई सम्हाल्नै सकिनँ । मलाई फिल्ममा अझै राम्रो गर्न सक्थेँ भन्ने त लागेको छ । तर, दर्शकले हरेक क्यारेक्टरमा अपनत्व गर्नुभएको देख्दा एकदमै खुसी लागेको छ ।’ उनको यो कुराले वर्षा पनि गहभरी भइन् ।
अर्को हप्ता (बिहीबार)देखि ‘ऐंचो पैंचो’लाई बलिउड सुपरस्टार शाहरुख खान स्टारर फिल्म ‘जवान’ चुनौती बन्न सक्ने देखिन्छ । र, मल्टीप्लेक्सहरुले ‘जवान’लाई काखा र ‘ऐंचो पैंचो’लाई पाखा गर्ने सम्भावना प्रवल छ । एडभान्स बुकिङकै शोले यसको संकेत गर्छ । दर्शकको उपस्थिति राम्रो हुँदाहुँदै हलबाट फिल्मलाई उतारे कानुनी बाटो रोज्ने चेतावनी निर्माता विशाल चौलागाईंले दिएका छन् ।