बलिउडमा कलाकारहरुबीच मित्रताको चर्चा जति हुन्छ, त्योभन्दा बढी त दुश्मनीका किस्सा छन् । ९० को दशकका दुई सुपरस्टार शाहरुख खान र सनी देओलबीच पनि करिब १६ वर्ष पानी बाराबारको अवस्था थियो । दुवैले सन् १९९३ मा रिलिज भएको फिल्म ‘डर’मा एकसाथ काम गरेका थिए । यो फिल्ममा सनीमाथि शाहरुख भारी परेपछि उनीहरुबीच एकाएक दुश्मनी पलाएको थियो ।
‘डर’पछि उनीहरुबीच १६ वर्ष बोलचाल भएन । केही वर्षअघि दुवैले मनमुटाव अन्त्य गरे । यद्यपि, यी दुई सुपरस्टार आमने-सामने भएका थिएनन् । शनिबार सनी अभिनीत फिल्म ‘गदर २’को सफलताको पार्टीमा दुवै एकसाथ देखिए । पार्टीपछि सनी र शाहरुख अंगालो मार्दै मिडियामा प्रस्तुत भएका थिए । ‘गदर २’ सफल भएपछि शाहरुखले फोनमार्फत् सनीलाई बधाई समेत दिएका थिए ।
केही समयअघि सनीले शाहरुखसँगको मनमुटाव अन्त्य भएको जानकारी दिँदै भनेका थिए, ‘कयैन् पटक मैले उसलाई फोन गरेको थिएँ र विभिन्न विषयमा हामीबीच कुराकानी भयो । विगतमा जे भए पनि सबै कुरा समयले ठीक पार्छ र हामी अघि बढ्छौं ।’ ‘गदर २’को सफलताको पार्टीमा शाहरुख श्रीमती गौरी खानको साथमा पुगेका थिए । अन्य कयौं बलिउड हस्तीको पनि उपस्थिति थियो ।
‘गदर २’ले आइतबार ५ सय करोडको रेकर्ड बनाउँदैछ । र, सबैभन्दा चाँडो (२४ दिनमा) यो रेकर्ड बनाउने पहिलो बलिउड फिल्म बन्दैछ । रिलिजपूर्व फिल्मको सफलतालाई लिएर आशंका उब्जिएको थियो । तर, फिल्मले बलिउडलाई ठूलो ‘सरप्राइज’ दिएको छ । अनिल शर्मा निर्देशित फिल्ममा सनीसँगै अमीषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर, गौरव चोपडा आदिको मुख्य भूमिका छ ।