मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’मा दयाहाङको जोडी बन्दै आँचल

फिल्मीखबर, काठमाडौं, 2023/09/03

dayahang rai and aachal sharma

 

रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’मा अभिनेता दयाहाङ राईको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिने भएको छ । आइतबार निर्माण टिमले आँचलसँग लिखित सम्झौता गरेको हो । यसको पुष्टि आँचल स्वयंले गरिन् । उनले यसअघि एउटा म्यूजिक भिडियोमा दयाहाङसँग काम गरेको भए पनि फिल्ममा पहिलो पटक सहकार्य जुरेको हो ।

‘डिग्री माइला’सहित उनको पाइपलाइनमा अब तीन फिल्म भएको छ । आँचलले साउनमा ‘पञ्चामृत’ र भदौको पहिलो साता ‘ह्वाइट हाउस’ पनि सम्झौता गरेकी थिइन् । यी तीनवटै फिल्मको छायांकन उनले यसै वर्ष गर्नेछिन् । ‘डिग्री माइला’को पहिलो सेड्युलको छायांकन आगामी असोज पहिलो हप्ता र दोस्रो सेड्युल मंसिरमा राखिएको छ । २०८१ को नयाँ वर्षमा फिल्म प्रदर्शनमा आउनेछ ।

२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको दयाहाङ राई निर्देशित ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर फिल्म बन्न लागेको हो । शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित भएर फिल्म बन्नेछ । नाटकले पनि यही विषय उठाएको थियो । कमेडी कथामा निर्माण हुने फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ ।

बासुरी फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा दयाहाङ र आँचलसँगै माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे पनि अभिनय रहनेछ । यो फिल्मपछि निर्देशक गुरुङ ‘कबड्डी ५’को तयारीमा जुट्ने र त्यसपछि उपेन्द्र सुब्बाको निर्देशनमा नयाँ फिल्मको घोषणा हुने चर्चा छ । रामबाबु निर्माता रहेको नयाँ फिल्म ‘राजागञ्ज’को यसै हप्ता सुटिङ सकिएको छ ।