रंगीन दुनियाँमा एउटा मान्यता के छ भने कलाकार भएपछि फिट हुनुपर्छ । चाहे त्यो फिल्मको चरित्रमा होस् वा शारीरिक हिसाबले । यसैले त प्रायः कलाकारहरु आफूलाई शारीरिक रुपमा फिट राख्न विभिन्न कुरामा ध्यान पुर्याउँछन् । विशेषगरी खानपिन । अझ अभिनेत्रीहरुमा त जिरो फिगरको ट्रेन्ड नै छ । यसका लागि उनीहरुले गर्ने त्याग, तपस्या र मेहनत कुनै युद्ध लडेभन्दा कम हुँदैन ।
अभिनेत्री आँचल शर्मालाई नै हेरौंन । चार दिन अगाडि युट्युबमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘दुई चुल्ठी बाटन’ बोलको गीतका लागि आफ्नो शरीरमा ‘ट्रान्सफर्मेसन’ ल्याउन उनले एक महिना जति नुन बारेकी थिइन् । त्यस्तै, दिनहुँ जिम धाएकी थिइन् । फलतः उनको शरीरमा आएको ‘ट्रान्सफर्मेसन’ गीतमा स्पष्ट देखिन्छ । गीतमा उनी एकदमै स्लिम देखिएकी छन् ।
नुनले शरीरमा पानीको मात्रा बढाउँछ । तौल बढाउन यसको पनि भूमिका हुन्छ । उच्च नुनको सेवनले शरीरमा फ्याटको मात्रालाई समेत बढाउने गर्छ, जसका कारण शरीरको वजन स्वतः बढ्ने गर्छ । यसैले आँचलले ‘पशुपति प्रसाद २’को गीतमा आफूलाई स्लिम देखाउन खानेकुरामा नुन बारेकी थिइन् । श्रीमान् उदीप श्रेष्ठ पोषणविद् समेत भएकाले ‘डाइट प्लान’मा आँचललाई निकै सहज छ ।
‘पशुपति प्रसाद २’को गीतमा उनको सुन्दरता, नृत्य र फिटनेसलाई लिएर पनि गजब तारिफ भैरहेको छ । गीतको युट्युब कमेन्टमा एक महिला प्रशंसक लेख्छिन्, ‘कोरोना महामारीपछि अर्को तहमा गयो आँचल शर्माको एक्सप्रेशन । उनी हरेक फ्रेममा चम्किएकी छन् ।’ त्यस्तै, अर्का प्रशंसकको टिप्पणी छ, ‘आँचल एकदमै कामुक देखिएकी छन् । उनको चाल, रुप र एक्सप्रेशन गजब नै छ ।’
अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’को सफलताले राहतको सास फरेकी आँचलको हातमा अहिले पर्याप्त फिल्म छ । उनले गएको तीन महिनामा तीनवटा फिल्म सम्झौता गरिसकेकी छन् । यतिबेला उनको पाइपलाइनमा ‘डिग्री माइला : एमए थर्ड क्लास’, ‘पञ्चामृत’ र ‘ह्वाइट हाउस’ रहेका छन्, जसको उनले यही वर्ष छायांकन पूरा गर्नुपर्नेछ । यसले उनीप्रति मेकरको बढ्दो विश्वासलाई देखाउँछ ।