श्रीलंका-पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले २७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । यसलाई आफैंमा नेपालको ठूलो सफलता मानिएको छ । सोमबार दिउँसो ३ः१५ बजेबाट श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुने क्रिकेट खेलमा नेपालको विजयीका लागि सिंगो देशले प्रार्थना गरिरहेको छ ।
यस्तैमा, फिल्म निर्देशक तथा द्वन्द्व निर्देशक चन्द्र पन्तले भारतसँगको खेलमा छक्का र विकेट लिने खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् । इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएको तर्फबाट उनले प्रतिविकेट र प्रतिछक्का ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । उनी यो संस्थाको अध्यक्ष हुन् । नेपाल विजयी भए पाँच लाख दिने पनि उनको घोषणा छ ।
‘माही’, ‘रण’ र ‘निरहुुवा चलल लण्डन’ गरी तीनवटा भोजपुरी फिल्म निर्देशन गरिसकेका चन्द्र पन्तले ‘ह्रस्व दीर्घ’बाट नेपाली फिल्म निर्देशनमा पनि डेब्यू गरेका छन् । यो फिल्मको केही प्रतिशत छायांकन भैसकेको छ भने बाँकी दशैंपछि सुरु हुन सक्नेछ । त्यस्तै, उनले तीन दर्जन बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन समेत गरिसकेका छन् । यतिबेला उनी परिवारको साथमा अमेरिकामा छन् ।