मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक भगवत् गीता’ विवाद : निर्माताले धार्मिक संस्थालाई बुझाए कथासार

फिल्मीखबर, काठमाडौं, 2023/09/05

निर्माण आगवैदेखि नामका कारण विवादमा तानिएको फिल्म हो, ‘भगवत् गीता’ (छायांकनपछि नामको अघि ‘एक’ थपिएको हो) । विभिन्न धार्मिक संस्थाहरुले हिन्दू धर्मग्रन्थ ‘श्रीमद् भागवद् गीता’को नाममा फिल्म बनाउन नदिन चलचित्र विकास बोर्डमा निवेदन समेत बुझाएका थिए । तर, त्यसबेला सामसुमजस्तै भएको विवाद फिल्म प्रदर्शनको संघारमा रहँदा एकाएक उत्कर्षमा पुगेको छ ।

गत शुक्रबार हिन्दूवादी संस्थाहरु हिन्दू जागरण नेपाल, शिव सेना नेपाल र विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिलगायतले बोर्ड अध्यक्ष भुवन केसीलाई भेट गरेर ‘श्रीमद् भागवद् गीता’लाई गलत रुपमा प्रस्तुत गर्न लागिएको भन्दै फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग राखेका थिए । यसपछि बोर्डले सोमबार निर्माता तथा धार्मिक संस्थाका प्रतिनिधिहरुसँग भेट गराएर सहमतिको प्रयास गर्‍यो ।

बोर्डमा भएको दुई पक्षीय छलफलमा निर्माताले धार्मिक संस्थालाई फिल्मको कथासार देखाउने सहमति भएको थियो । जसअनुरुप मंगलबार निर्माता सुनिल कुमार थापाले नामलाई लिएर आपत्ति जनाएका हिन्दूवादी संस्थाहरुलाई करिब १० पेज लामो फिल्मको कथासार इमेलमार्फत् पठाएका छन् । उनले फिल्ममा सनातन हिन्दू धर्मलाई आघात पुग्ने न कथा न दृश्य रहेको दाबी गरेका छन् ।

 

bhagwat geeta movie


‘छलफलमा उहाँहरुले ‘भागवद् गीता’ ग्रन्थको नाममा लभस्टोरी फिल्म बनाउन पाउनुहुन्न भन्नुभएको थियो । हामीले भगवत् र गीता पात्रको नाम भए पनि हिन्दू धर्मको विरोध गरेर फिल्म बनाएका छैनौं भनेर बुझाउने प्रयास गर्‍यौं । तर, उहाँहरुले पत्याउनुभएन । त्यसपछि स्क्रिप्ट दिनुस् भन्नुभयो । मैले स्क्रिप्ट चाहिँ दिन सकिन्न, संक्षिप्त कथासार दिन्छु भनेर आज इमेल गरेको छु,’ थापाले भने ।

फिल्मका अभिनेता विपिन कार्की कुनै संस्थाले आपत्ति जनाएको भरमा कथासार बुझाउनुपर्ने अवस्था आउनुलाई देशको विडम्बना मान्छन् । उनी भन्छन्, ‘नेपाली फिल्मलाई हेर्न राज्यले छुट्टै निकाय (चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड) बनाइसकेको अवस्थामा समेत निर्माताले विभिन्न संस्थासँग फिल्म बनाउन अनुमति लिनुपर्ने स्थिति आएको छ । यो नराम्रो हो । यो त देशकै विडम्बना हो ।’

भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापाद्वारा निर्देशित फिल्ममा विपिनका साथै सुहाना थापा, अनुराग कुँवर, कबीर खड्का, जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय छ । फिल्मले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू)को कथालाई उठाएको ट्रेलरले संकेत गर्छ ।