अभिनेत्री गौरी मल्लको छायाँमा परेको एउटा कला छ, गायन । बाल्यकालदेखि गायनमा सौखिन उनले वर्षौं पहिले केही गीत समेत रेकर्ड गराएकी छन् । तर, गायनभन्दा उनी अभिनयमा बढी रुचाइन् । र, अभिनय नै पेशा बन्न पुग्यो । जसले गर्दा उनले गायनलाई निरन्तरता दिन सकिनन् । तर, गायनप्रतिको हुटहुटी उनमा कहिल्यै कम भएन । अन्ततः वर्षौंपछि गौरी गायनमा फर्किएकी छन् ।
उनको स्वर तथा शब्दमा रहेको तीज गीत ‘धिन ताका नाका धिन’ मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतमा गौरीसँगै अभिनेत्री मिथिला शर्माको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रममा केही उत्साहित र केही भावुक देखिएकी उनले १० वर्षपछि गीत गाएको स्मरण गरिन् । गायिका रचना रिमालले नभ्याएपछि उनी आफैं गीत गाउन स्टुडियो छिरेकी थिइन् ।
गौरीले भनिन्, ‘१० वर्षदेखि मैले गीत गाएकी थिइनँ । ‘रियाज’ थिएन । यो गीत मैले गाउने कुरा पनि थिएन । मलाई मनपर्ने गायिका रचना रिमाललाई गाउन लगाउने कुरा थियो । तर, रचनाले व्यस्तताका कारण नभ्याउने भएपछि डिजे एलएक्स भाई (संगीतकार)ले गीतअनुसार तपाईंले नै गाउँदा राम्रो हुन्छ भनेर आग्रह गरेपछि मैले प्रयास गरेकी हुँ । धेरै पटकको प्रयासपछि रेकर्डिङ्ग सकियो ।’
गौरी बाल्यकालदेखि आफ्नो तीनवटा सौख रहेको बताउँछिन् । लेख्ने, पढ्ने र गाउने । अभिनयलाई आफूले जीवनमा पाएको बोनस मान्छिन् उनी । उनी भन्छिन्, ‘बाल्यकालदेखि नै मेरो लेख्ने, पढ्ने र गाउने सौख हो । अभिनय त मैले ‘बोनस’मा पाएको कुरा हो । तर, यही मेरो पेशा बन्न पुग्यो । मैले होस् सम्हालेको बेलादेखि गाउन थालेकी थिएँ । घरमै ‘रियाज’ गर्थेँ । ठूलो स्वरमा गाएर बस्थेँ ।’
अभिनयमा पारंगत मानिने गौरीले एक सय बढी नेपाली फिल्ममा अभिनय गरेकी छन् । अघिल्लो वर्ष प्रदर्शित फिल्म ‘महापुरुष’मा उनको अभिनय कलाको गजब तारिफ भएको थियो । ‘धिन ताका नाका धिन’ गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीनवटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी भन्दै तारिफमा शब्द खर्चिए ।