२०७१ सालमा प्रदर्शन भएको फिल्म ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको ‘राष्ट्रिय अवार्ड’ जितेकी संगम विष्टले ९ वर्षपछि म्यूजिक भिडियोमार्फत् अभिनयमा पुनरागमन गरेकी छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मंगलबार युट्युबमा सार्वजनिक गरिएको ‘नरोउ राधा सम्झेर मलाई’ बोलको कृष्ण भजन गीतमा उनी राधाको चरित्रमा प्रस्तुत छिन् । यस गीतमा उनको आकर्षक नृत्य छ ।
‘लभ यू बाबा’मा उनले बाल कलाकारको रुपमा अभिनय गरेकी थिइन् । उनी अभिनेता गजित विष्टकी छोरी हुन् । उनले ‘अपहरण’, ‘जय शिव शंकर’, ‘श्रीमान’, ‘वरदान’ फिल्ममा पनि बाल कलाकारको रुपमा अभिनय गरेकी छन् । अध्ययनका कारण अभिनयबाट ९ वर्ष टाढा बसेकी उनी अब अभिनयमै करिअर बनाउने सोचमा छिन् । संगम अभिनेत्रीको रुपमा फिल्म डेब्यूको पखाईमा छिन् ।
वि.सं. २०४० सालको चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’लाई कृष्ण भजनको रुपमा तयार पारिएको गीतमा हरिबहादुर राउत र कोपिला वाइबाको स्वर छ । गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् भने प्रकाश सापकोटा र बिदुर तिमल्सिनाको शब्द रचना छ । गम्भीर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा ‘चुरिफुरी’ फेम्ड अभिनेता अभिषेक श्रेष्ठ कृष्ण बनेका छन् ।
हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यो गीतमा दिनेश पराजुलीको छायांकन छ भने प्रविन भट्टले सम्पादन गरेका छन् । ४० वर्षअघि नै चर्चित भैसकेको गीतलाई भजन भर्सनमा ल्याएर दर्शकलाई नयाँ स्वाद पस्किने प्रयास गरेको गायक राउतको भनाई छ । त्यस्तै, गीतकार सापकोटाले पुरानो गीतजस्तै भजन पनि प्रेमकथामा नै आधारित रहेको बताए ।