आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दिमाग खराब’ दुई कारणले चर्चामा छ । पहिलो, ‘लुट’बाट सेलिब्रेटी निर्देशक बनेका निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । दोस्रो, स्टारकास्ट । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलगायतका नाम चलेका कलाकारहरुको मुख्य भूमिका छ ।
बिहीबार निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । जसमा फिल्मका प्रमुख कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । कोही निराशा भावमा त कोही रिसाहा मुडमा देखिएका छन् । खगेन्द्र टाउकोमा ब्यान्डेज लगाएको अवस्थामा चित्रित छन् भने स्वस्तिमालाई विवाहित महिलाको रुपमा प्रस्तुत गरिएको छ । फिल्मको बिहीबार साँझ ४ बजे टिजर सार्वजनिक गरिँदैछ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको ‘दिमाग खराब’मा आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनक विक्रम कँडेल निर्माता रहेको फिल्म जनता र शक्ति (राजनीति)को कथामाथि आधारित छ ।
सन् २०१७ मा आएको ‘लुट २’पछि निश्चल निर्देशनबाट टाढा थिए । उनको सक्रियता अभिनय र गायनमा बढी रह्यो । कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा फिल्म बनाउने तयारी नगरेका होइनन् । तर, बजेट ठूलो लाग्ने भएपछि उनले आँट गर्न सकेनन् । अन्ततः उनले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शनपछि घोषणा गरेको ‘दिमाग खराब’ नाममै फिल्म बनाएका छन् ।