६० दिनको सेड्युल राखिएको फिल्म ‘अगस्त्य’को छायांकन र बजेट दुवै बढेको छ । ‘लार्ज स्केल’मा बनिरहेको फिल्मको छायांकन ८० दिन नाघ्न सक्ने निर्देशक सौरभ चौधरीले जानकारी दिए । जसले गर्दा बजेट ४ करोड नाघ्ने देखिएको छ । करिब १८ दिनदेखि राजविराज क्षेत्रमा दोस्रो चरणको छायांकन भैरहेको फिल्मको गत जेठमा भैरहवा र भारतको गोरखपुर छायांकन गरिएको थियो ।
अभिनेता सौगात मल्लले १८ केजी तौल बढाउनुपर्ने भएपछि दुई महिनाका लागि फिल्मको छायांकन स्थगन गरिएको थियो । उनले तौल बढाएपछि राजविराजबाट दोस्रो चरणको छायांकन थालिएको हो । यसअघि उनी यही फिल्मका लागि २० केजी घटेका थिए । फिल्ममा उनी दुई अलग-अलग रुपमा प्रस्तुत हुनेछन् । एउटामा मानसिक सन्तुलन गुमेको चरित्रमा र अर्कोमा ‘नर्मल’ अवस्थामा ।
निर्देशक चौधरीले ड्रिम प्रोजेक्ट मानेको ‘अगस्त्य’मा नाजिर हुसेन र मलिका महतको पनि मुख्य भूमिका रहेको छ । नाजिरले समेत यो फिल्मका लागि २० केजी तौल बढाएका छन् । एक्सन-लभस्टोरी कथामा आधारित रहेको फिल्म दुई श्रृंखलामा निर्माण हुनेछ । र, दुईवटै श्रृंखलाको स्क्रिप्ट सौरभले तयार पारिसकेका छन् । यस फिल्मको निर्मातामा प्रकाश मल्ल र अनिष तामाङ रहेका छन् ।
छायांकन नसकिँदै फिल्मको ओभरसिज राइट्स बिक्री भैसकेको छ । सेभेन सिज कम्पनीले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हो । अमेरिका, बेलायत, क्यानडा, कोरिया, अष्ट्रेलियालगायतका देशमा फिल्मको २५ सय बढी शो हुने जनाइएको छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यस वर्षको अन्तिमतिर फिल्मलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।