मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ वर्तमान समयको एउटा अंश हो : दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2023/09/07

नेपाली फिल्ममा राजनीतिक विषयले प्राथमिकता पाउन थालेको छ । तर, प्रायः फिल्मले राजनीति र नेता गलत नै हुन्छन् भन्ने भाष्य निर्माण गर्न खोजेको देखिन्छ । नेतालाई चुन्ने जनतामाथि प्रश्न गर्ने फिल्म कमै बनेका छन् । यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’ले भने नेतासँगै उनीहरुलाई चुनेर पठाउने जनतामाथि पनि प्रश्न गर्ने अभिनेता दयाहाङ राई बताउँछन् ।

उनी भन्छन्, ‘फिल्मबाट एउटा प्रश्न मात्र उठाउन सक्यौं भने पनि ठूलो कुरा हो । यो फिल्मले नेता र जनता दुवैलाई प्रश्न गर्छ र दुवै पक्षलाई आफूसँग प्रश्न गर्ने अवस्था बनाउन सक्छ । चुनाव जिताएर पठाएको नेता इमानदार नहुँदा जनतामा राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ । तर, नेतृत्व गर्ने एकजना हो । नेतृत्वमा पुर्‍याउने सयौंजना हुन्छ । उनीहरुले अब सोच्नुपर्छ भनेर फिल्मले भन्नेछ ।’

 


सामाजिक तथा राजनीतिक विषयमा फिल्म केन्द्रित रहेको बताउँदै उनले अहिलेको नेपाली समाजको राजनीतिक चेत र प्रभावसँगै जनतामाथि शासन गर्ने राजनीतिज्ञको सोच कस्तो हुन्छ भन्नेमा फिल्म केन्द्रित रहेको प्रष्ट्याए । उनी यो फिल्मलाई वर्तमान समयको एउटा अंशको रुपमा ब्याख्या गर्छन् । बनिरहेका राजनीतिक विषयका फिल्मभन्दा ‘नाङ्गो गाउँ’ धेरै फरक रहेको उनको दाबी छ ।

फिल्ममा दयाहाङ शिक्षण पेशाबाट राजनीतिमा लागेको पात्रको रुपमा चित्रित छन् । यसअघि ‘कबड्डी’ श्रृंखलामा पनि उनको चरित्र राजनीतिसँग जोडिएको थियो । तर, यी दुईवटै फिल्म धेरै अलग रहेको उनको दाबी छ । ‘कबड्डी’मा राजनीति पृष्ठभूमिमा काजी र मैयाँको कथा रहेको बताउँदै उनले ‘नाङ्गो गाउँ’मा हरेक चरित्रलाई राजनीतिक उथलपुथलले असर पारेको कथा रहेको स्पष्ट पारे ।

दयाहाङ राजनीतिप्रति चासो राख्छन् । तर, उनलाई राजनीतिमा आउने कुनै रुचि छैन । उनको बुझाईमा अभिनयभन्दा निकै गाह्रो हुन्छ राजनीति । ‘राजनीतिक कहाँ सजिलो छ र ? समाजलाई सही दिशा दिनुपर्ने जिम्मेवारी पो हुन्छ । यद्यपि, राजनीतिकप्रति मेरो चासो चाहिँ छ । राजनीतिभन्दा त मलाई अभिनय नै सजिलो छ । भविष्यमा पनि राजनीतिमा आउने कुनै योजना छैन,’ उनले भने ।

‘नाङ्गो गाउँ’मा दयाहाङको जोडी अभिनेत्री मिरुना मगरसँग बाँधिएको छ । यो उनीहरुबीच तेस्रो सहकार्य हो । यसअघि ‘कबड्डी ४’ र ‘जारी’ जस्तो ब्लकबस्टर फिल्ममा उनीहरुको सहकार्य भैसकेको छ । तर, मिरुनासँग निरन्तर सहकार्य हुनुलाई दयाहाङ संयोग मान्छन् । यद्यपि, मिरुनासँग काम गर्न सहज लाग्ने उनको अनुभव छ । यो जोडीले चाँडै ‘रंगेली’ र ‘घरज्वाइँ’मा पनि काम गर्दैछन् ।