एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर फर्किएका अभिनेता पल शाहले दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मायावी’बाट डेढ वर्षपछि कमब्याक गर्ने भएका छन् । निर्माण टिमले बिहीबार एक पोस्टरमार्फत् फिल्ममा पल अनुबन्धित भएको जानकारी गराएको हो । प्राप्त जानकारी अनुसार, पलसँग निर्माण टिमको केही दिनअघि नै कागजी सम्झौता भएको थियो ।
कोभिडभन्दा अगाडि फिल्म ‘तिमीसँगै हुने मन छ’मा पनि दीवाकरले पलसँग सहकार्यको प्रयास गरेका थिए । तर, त्यसबेला विभिन्न कारणले नजरेको सहकार्य ‘मायावी’मा हुन पुगेको छ । फिल्ममा पलको जोडी अभिनेत्री दीपिका प्रसाईंसँग बाँधिनेछ । यसअघि यो जोडीले एक म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् । फिल्ममा भने यी दुईबीच पहिलोपटक सहकार्य हुन लागेको हो ।
आगामी असोज पहिलो हप्ताबाट छायांकन हुन लागेको फिल्ममा आशिर्वाद क्षेत्री र रिहान गिरीको पनि अभिनय रहनेछ । दीवाकर स्वयंको लेखन रहेको फिल्म क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण हुनेछ । एसडी योगीको संगीत, राम अविरल विष्टको गीत र राजुविक्रम थापाको डिओपी रहने ‘मायावी’को छायांकन तालनगरी पोखरा आसपासमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।