राज्यको निकाय चलचित्र विकास बोर्डमा शीर्षक, कथासार, बजेट, ब्यानर, कलाकारदेखि निर्देशकसम्मको नाम उल्लेख नभएसम्म फिल्मले निर्माण इजाजत पाउँदैन । बोर्डबाट इजाजत लिएपछि मात्र फिल्म निर्माण तथा प्रदर्शन हुन पाउँछ । तर, बोर्डले निर्माण इजाजत दिएको फिल्मलाई समेत झमेला दिन थालेको छ । फिल्म ‘एक भगवत् गीता’लाई बोर्डले सेन्सर सिफारिस नै दिएको छैन ।
केही हिन्दूवादी संस्थाहरुले फिल्मको नाम र विषयवस्तुमा आपत्ति जनाउँदै निवेदन दिएपछि फिल्मलाई सेन्सर सिफारिस दिन बोर्ड डराएको छ । बिहीबार दिउँसभर फिल्मका निर्माता सुनील कुमार थापा सेन्सर सिफारिसको पत्र कुरेर बोर्डमै बसिरहे । तर, बोर्डले सेन्सर सिफारिस दिनुको सट्टा निर्मातालाई हिन्दूवादी संगठनका प्रतिनिधिहरुसँग सहमति खोज्नका लागि छलफलमा भिडाइदियो ।
छलफलमा हिन्दूवादी संगठनका प्रतिनिधिहरुले व्यावसायिक प्रयोजनका लागि धर्मग्रन्थको नाम प्रयोग गरेर सनातन धर्म-संस्कृतिमा आँच पुर्याउने काम भएको भन्दै फिल्मको नाम परिवर्तन गर्नुपर्ने अडान लिएर बसेका थिए । निर्माता थापाले भने फिल्ममा भगवत् र गीता पात्रको नाम मात्र रहेको स्पष्ट पार्दै हिन्दू धर्ममाथि कुनै पनि खालको आघात पुग्ने दृश्य र कथा फिल्ममा नभएको दाबी गरे ।
तर, हिन्दूवादी संस्थाहरु नाम परिवर्तन गर्नुपर्ने अडानबाट टसमस भएनन् । जसले गर्दा बोर्ड पनि फिल्मलाई सेन्सर सिफारिस दिन डरायो । र, शुक्रबार (भोलि) यसबारेमा बोर्ड बैठकबाट निर्णय गरिने जानकारी पाएपछि निर्माता थापा निराश र आक्रोशित देखिए । फिल्मकर्मीको पक्षमा उभिनुपर्ने बोर्ड सेन्सर सिफारिस नदिएर निर्मातालाई नै पेलेर जान खोजेको भन्दै उनले गुनासो व्यक्त गरे ।
फिल्मले प्रदर्शन अनुमति नपाए आफ्नो परिवार फिल्म क्षेत्र छाडेर अमेरिका पलायन हुने थापाले बताए । बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले निराश हुँदै भने, ‘यदि फिल्म नै नबना भन्नुहुन्छ भने म यो फिल्मै थन्काइदिन्छु । र, मलाई फिल्म क्षेत्रमा आउनु पनि छैन । म परिवारसहित अमेरिका गएर खुसीसाथ बस्नेछु । निर्माण इजाजत दिएको बोर्डले अहिले सेन्सर सिफारिस नै दिँदैन ।’
बोर्डले फिल्मलाई सेन्सर सिफारिस दिनुपर्ने उनको अडान छ । ‘बोर्ड त निर्माताहरुको पक्षमा उभिनुपर्ने होनि । तर, निर्मातालाई नै पेलेर यो र त्यो भएन भन्दै समस्या दिइरहेको छ,’ उनी भन्छन्, ‘मेरो फिल्मले कुनै पनि हालतमा सेन्सर सिफारिस पाउनुपर्छ । बरु सेन्सर बोर्डले यो नाम नराख्न वा फिल्मै प्रदर्शन गर्न पाउँदैन भन्यो भने म त्यसका लागि तयार छु । तर, सेन्सरमा फिल्म हेरिनुपर्छ ।’
बोर्डका सदस्य तथा प्रवक्त केएल बुढाथोकीले भने फिल्मको सेन्सर सिफारिस नरोकिएको दाबी गरे । ‘उहाँ (निर्माता) आज सेन्सर सिफारिसका लागि आउनुभएको छ । हामी त्यो प्रक्रियालाई अघि बढाउनेछौं । हामीले सेन्सर सिफारिस रोक्नै मिल्दैन । तर, कुनै विषयमा विवाद श्रृंखला भयो भने एकचरण छलफलबाट सहमति खोज्ने प्रयास बोर्डले गर्छ । र, बोर्डले त्यही गरेको हो,’ उनले भने ।
आपत्ति जनाएका संस्था र निर्माताबीच सहमति नभएको अवस्थामा नियमअनुसार बोर्डले आफ्नो निर्णय दिने बुढाथोकीले स्पष्ट पारे । सदस्य बुढाथोकीले अगाडि भने, ‘सेन्सर सिफारिस दिन हामी डराएको हुँदै होइन, संवेदनशील भएको हो । दुवै पक्ष आ-आफ्नो ठिप्पीबाट टसमस हुनुभएन भने बोर्ड आफ्नो प्रक्रियामा अगाडि बढ्छ । त्यो प्रक्रिया के हो भन्ने कुरा बोर्ड बैठकबाट निर्णय हुन्छ ।’