मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक भगवत् गीता’को पक्षमा उभिए फिल्मकर्मी, बोर्डको विरोध

फिल्मीखबर, काठमाडौं, 2023/09/08

हिन्दू धर्मको पवित्र ग्रन्थमध्ये एक ‘श्रीमद् भागवद् गीता’को नाममा फिल्म निर्माण भएकोमा आपत्ति जनाउँदै केही सनातन धर्मका संस्थाहरुले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डमा नाम परिवर्तनको माग राख्दै निवेदन बुझाएपछि फिल्म ‘एक भगवत् गीता’ले बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । बरु बोर्डले निर्मातालाई फिल्मको नाममा आपत्ति जनाएका संस्थाहरुसँग सहमति गर्नका लागि दबाब दिइरहेको छ ।

बोर्डलाई तालुकवाला मन्त्रालय (सञ्‍चार तथा सूचना)ले नै विवाद मिलाउन निर्देशन दिएको छ । जसले गर्दा बोर्डले फिल्मलाई सेन्सर सिफारिस दिनुभन्दा पहिला दुई पक्षबीच विवाद मिलाउन प्रयास गरिरहेको छ । तर, सहमति जुट्न सकेको छैन । त्यसो त बोर्डलाई फिल्मको सेन्सर सिफारिस रोक्ने अधिकार छैन । फिल्मको नाम परिवर्तन गर्ने या नगर्ने वा प्रदर्शन गर्न दिने या नदिने भन्ने निर्णय सेन्सर बोर्डले गर्छ । तर, मन्त्रालयको निर्देशनका कारण बोर्ड दबाबमा परेको छ । फिल्मले सेन्सर सिफारिस नपाएपछि राज्य र बोर्डविरुद्ध फिल्मकर्मीहरुले आवाज उठाउन थालेका छन् ।

 

ek bagwat geeta


कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै नामकै कारण फिल्मको प्रदर्शन रोक्नु जायज नभएको बताएका छन् । निर्देशक झरना थापाको परिवार नै श्रीकृष्णको ठूलो भक्त रहेकाले भक्तले बनाएको फिल्ममा धर्मको खिल्ली उडाए भनेर पत्याउन नसकिने उनको भनाई छ । फिल्मको रिलिज रोक्न नहुने बताउँदै उनले बोर्डलाई जागिर खाने थलो मात्र नबनाउन आग्रह गरेका छन् । त्यस्तै, कलाकार निर्मल शर्माले फिल्म क्षेत्रलाई जीवित राख्न समर्पित र मिहिनेती निर्मातालाई बचाउनु पहिलो धर्म हुने बताएका छन् । निर्देशक शोभित बस्नेतले ‘एक भगवत् गीता’लाई कहीँ कतै बस्नेत परिवारको उपस्थिति चाहिए हाजिर हुने भन्दै ढाडस दिएका छन् ।

निर्देशक सुजीत विडारीले भने सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड नै खारेजीको माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड खारेज गरिदिउँ । आ-आफ्नै संघ-संगठनले सेन्सर गर्ने भएपछि यिनको के काम ? राजनैतिक फिल्म बनाए सर्वदलिय समिति बनाएर सेन्सर गरौं, पारिवारिक चलचित्र बनाए नेपाल परिवार दललाई सेन्सर गर्न दिउँ, साइन्स फिक्शन फिल्म बनाए नाष्टलाई सेन्सर गर्न दिउँ । विधि-विधान, नीति-नियम नमान्ने थिती बसालेर हामी फेरि ढुङ्गे युगमा फर्कन खोजेको हो ? ‘कमन सेन्स’ छ कि छैन ?’

अभिनेता कृष्ण मल्लले एउटा निर्मातामाथि अन्याय हुँदा कोही नबोलेकोमा आपत्ति जनाएका छन् । उनी फेसबुकमा लेख्छन्, किन संगठन ? किन संस्था ? किन बोर्ड ? आज सुनिल कुमार थापा रुँदा पनि केही नबोल्ने ? कोही नबोल्ने ? एउटा निरन्तर फिल्म बनाउने निर्माता पलाएन भयो भने दोष कसको ? फिल्म बजारमा आएको छैन, अरुलाई त्यहाँको कन्टेन्ट कसरी थाहा भयो ? नाम राख र फेर भन्ने को हो ? मेरो नाम कृष्ण पनि धार्मिक कारणले फेर भन्लान् ? यो कस्तो राज्य हो ? यो कस्तो चलचित्र क्षेत्र हो, एकजनालाई अप्ठ्यारो पर्दा अरु नबोल्ने ?’

समीक्षक यज्ञश, निर्देशकहरु प्रदीप भट्टराई, जनकदीप पराजुली, डब्बु क्षेत्रीलगायतले पनि ‘एक भगवत् गीता’लाई बोर्डले सेन्सर सिफारिस नदिएकोमा विरोध जनाएका छन् । बोर्डले शुक्रबारको बोर्ड बैठकबाट फिल्मको सेन्सर सिफारिसको विषयमा निर्णय लिने जानकारी प्राप्त छ । हिन्दूवादी संस्थाहरुले मन्त्रालय र बोर्डमा निवेदन बुझाउँदै फिल्मको नाम परिवर्तन नगरी प्रदर्शनको अनुमति दिए जस्तोसुकै कदम उठाउन सक्ने चेतावनी दिएका छन् । निर्माता भने फिल्मको नाम परिवर्तन गर्न तयार देखिएका छैनन् । यो फिल्म यही भदौ २९ गतेबाट प्रदर्शन हुँदैछ ।