अभिनेता अनमोल केसीको लुक्सको जति चर्चा हुन्छ, त्योभन्दा बढी अभिनयको आलोचना हुन्छ । १० वर्ष लामो अभिनय करिअरमा उनले जीवन्त अभिनय गरेको फिल्म सिला खोज्दा पनि भेटिन्न । यसैले त हरेक फिल्ममा उनलाई सहायक कलाकारहरुले छायाँमा पारिरहेका छन् । अभिनयमा परिपक्वता नदेखिए पनि उनको हातमा हरेक वर्ष अवार्ड भने टुटेको छैन । र, यसैमा दंग छन् उनी ।
अनमोलको कमजोर अभिनय क्षमता शुक्रबार युट्युबमा सार्वजनिक फिल्म ‘फर्की फर्की’को ‘अनाउन्समेन्ट’ टिजरमा पनि देखिएको छ । अनमोलकै ‘भ्वाइस ओभर’ रहेको टिजरमा उनी मात्र प्रस्तुत छन् । उनले बोलेका हरेक एक शब्द वजनदार र अर्थपूर्ण छन् । तर, डाइलग डेलिभरी गर्ने उनको शैली कमजोर हुँदा टिजर फिस्स लाग्छ । यद्यपि, उनलाई बोल्ड आवाजले भने साथ दिएको छ ।
निर्माण टिमले टिजरमा अनमोलसँगै अभिनेत्री जसिता गुरुङलाई पनि प्रस्तुत गर्न चाहेको थियो । उनीहरुको ‘लभ एङ्गल’बाट टिजर तयार गर्न खोजिएको थियो । तर, जसिता परिवारसँग बेलायतमा भएकाले टिजरमा अनमोललाई मात्र चित्रण गरिएको हो । आगामी कात्तिक अन्तिमबाट छायांकनमा जान लागेको फिल्ममा ‘सानो मन’ फेम्ड निर्देशक सुयोग गुरुङको लेखन तथा निर्देशन रहनेछ ।
रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको फिल्मको सह-निर्माताको रुपमा मनोज वली र राम न्यौपाने छन् । आलोक शुक्लाको छायांकन रहने फिल्ममा रोमन बज्रचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र निर्देशक गुरुङ स्वयंको सम्पादन रहनेछ । लभस्टोरी कथावस्तुमा निर्माण हुन लागेको फिल्म अर्को वर्ष (२०२४)मा प्रदर्शन हुनेछ ।