गत वर्ष करिब ५ वर्ष लामो प्रेम सम्बन्धलाई टुंग्याएका अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ ब्रेकअपपछि पहिलोचोटी एक सार्वजनिक कार्यक्रममा आमने-सामने भएका छन् । शुक्रबार इटालीको ‘भेनिस फिल्म फेस्टिभल’मा सहभागी हुने क्रममा उनीहरु एकसाथ देखिएका हुन् । उनीहरुको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को उक्त फेस्टिभलमा शुक्रबार साँझ विश्व प्रिमियर हुँदैछ ।
ब्रेकअपपछि सौगात र सृष्टिबीच बोलचाल छैन । फेस्टिभलमा उनीहरुबीच ‘हाई हेल्लो’ समेत नभएको त्यहाँ पुगेका एक प्रतिनिधिले जानकारी गराए । यद्यपि, अन्तर्राष्ट्रिय मिडियालाई तस्वीर खिचाउने क्रममा दुवैलाई एकसाथ उभिनुपर्ने बाध्यता आइलागेको थियो । फिल्मीखबरलाई उपलब्ध तस्वीरमा दुवैलाई एकसाथ उभिन असहज महसुस भएको हाउभाउ र अनुहारको भावभंगीबाट बुझिन्छ ।
भेनिस फिल्म फेस्टिभलमा ‘द रेड सुटकेस’का अर्का मुख्य अभिनेता विपिन कार्की, निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेल पनि सहभागी भएका छन् । भेनिसको होराइजन्स विधामा फिल्म छनोट भएको हो । प्रवीण खतिवडा, सोनम लामा, अञ्जु देउजा र बी विश्वकर्माको पनि फिल्ममा अभिनय छ । सौगात र सृष्टिले प्रेम सम्बन्धमा रहँदाखेरि यो फिल्ममा अभिनय गरेका थिए ।
उनीहरुले लकडाउनभन्दा अगाडि नै विवाह गर्न खोजेका थिए । सृष्टिको परिवारसँग विवाहको कुरा गर्न एकपटक सौगात बेलायत समेत पुगेका थिए । दुवैको परिवारले उनीहरुलाई विवाहका लागि अनुमति दिइसकेको थियो । तर, यो जोडीले प्रेम सम्बन्धलाई नै टुंग्याउने निर्णय गरे । अफेयरमा हुँदा यी दुईले ‘पोइ पर्यो काले’, ‘राधा’, ‘माइकल अधिकारी’ फिल्ममा एकसाथ काम गरेका थिए ।