गत असार २१ गते घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको न्यायको माग गर्दै समर्थकहरुले शान्तिपूर्ण र्याली निकालेका छन् । शनिबार बिहान साढे ९ बजेतिर सारुकको घर रहेको क्षेत्र ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्याली निकालिएको थियो । र्यालीमा सहभागी अधिकांशले ‘जस्टिस फर सारुक’ र ‘जस्टिस फर सारुकस् मदर’ लेखिएको सेतो रंगको टिसर्ट लगाएका थिए ।
सारुक र उनको बुबाको तस्बिरसहित निकालिएको शान्तिपूर्ण र्यालीमा डेढ सय बढी सहभागी थिए । र्यालीको क्रममा उनीहरुले बाटोको फोहोर समेत उठाएका थिए । र्यालीमा सहभागीहरुले सारुकको निधनको निष्पक्ष रुपमा अनुसन्धान हुनुपर्ने र सत्यतथ्य प्रहरी प्रशासनले चाँडै सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । र्यालीमा सारुकको परिवारका केही सदस्यहरु समेत सहभागी थिए ।
सारुकको निधनको ५२ दिनमा उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि निधन भएको थियो । छोराको निधनको शोकमा उनी बिरामी परेका थिए । छोरा र बुबा दुवैको निधन भएपछि चौतर्फी रुपमा गम्भीर छानबिन हुनुपर्ने भन्दै आवाज उठिरहेको छ । सारुकलाई आमहत्या गर्न बाध्य पारिएको हुनसक्ने आशंका धेरैको छ । उनकी आमाले समेत छोराको न्यायको माग गरेकी छन् ।
यसै हप्ता सारुककी आमाले फेसबुकमा स्टाटस लेख्दै छोराले गलत कदम उठाउनुको कारणबारे छानबिन गर्न र फोन डिटेल प्रष्ट रुपमा अगाडि ल्याउन प्रहरी प्रशासनसँग अनुरोध गरेकी थिइन् । छानबिन कहाँसम्म पुग्यो भन्नेबारे आफूले खबर नपाएको समेत उनको गुनासो थियो । प्रहरीले भने अनुसन्धान भैरहेको दाबी गर्दै आइरहेको छ । तर, अहिलेसम्म ठोस उपलब्धि देखिएको छैन ।