मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक भगवत् गीता’मा महिला निर्देशक भएकाले क्यारेक्टरमा सहज भयो : विपिन

फिल्मीखबर, काठमाडौं, 2023/09/09

अभिनेता विपिन कार्कीको एउटा विशेषता छ । उनी जुनसुकै चरित्रमा आफूलाई सजिलै ढाल्न सक्छन् । आफ्नो उमेरभन्दा दोब्बर बढीको चरित्र होस् वा हाँस्य चरित्र, हरेकमा उनले आफूलाई अब्बल प्रमाणित गरेका छन् । यसैले त उनलाई नेपाली फिल्म क्षेत्रले पाएको जीवन्त कलाकार भन्ने गरिन्छ । एकपटक फेरि उनले नयाँ चरित्रमा आफूलाई ढालेका छन्, फिल्म ‘एक भगवत् गीता’मा ।

यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापाद्वारा निर्देशित यो फिल्ममा उनले तेस्रो लिङ्गीको भूमिका निर्वाह गरेका छन् । उनले पहिलो पटक यसखालको भूमिकामा आफूलाई ढालेका हुन् । जसले गर्दा उनलाई स्वभाविक रुपमा चुनौती ठूलो थियो । उनलाई तेस्रो लिङ्गीको भूमिकामा ढल्नका लागि निर्माण टिमले वास्तविक पात्रहरुसँग घुलमिल हुने वातावरण मिलाइएको थियो ।

हालै सञ्चारकर्मीसँगको एक भेटमा उनले भने, ‘मलाई हरेक भूमिका चुनौतीपूर्ण नै लाग्छ । यो त झन् लैंगिक हिसाबले समेत फरक भूमिका भएकाले अझ बढी चुनौती महसुस भएको थियो । यो भूमिकामा मलाई ढल्नका लागि वास्तविक पात्रहरु मेरो वरिवरि नै हुनुहुन्थ्यो । त्यो वातावरण निर्देशक झरना थापाले दिलाइदिनुभएको थियो । त्यो हिसाबले चरित्रमा ढल्न मलाई सजिलो पनि भयो ।’

 

bipin karki


फिल्ममा पुरुष निर्देशक भएको भए आफूलाई तेस्रो लिङ्गीको भूमिकामा काम गर्न निकै कठिन हुन सक्थ्यो भन्ने उनको बुझाई छ । ‘झरना दिदीले मेरो बडी ल्याङ्वेज विग्रिएको बेला थाहा पाइहाल्नुहुन्थ्यो । त्यहाँ पुरुष निर्देशक भैदिएको भए ‘केयर’ नहुन सक्थ्यो,’ उनी भन्छन्, ‘बसाई, बोलाई अनि अदा यस्तो हुन्छ भनेर मलाई थाहा थिएन । झरना दिदीले गर्दा यो कुरामा धेरै नै सजिलो भयो ।’

चरित्र निर्माणको क्रममा उनले लैंगिक अल्पसंख्यक समुदायसँग केही समय विताएका थिए । जसले उनलाई त्यो समुदायको भावना बुझ्न सहज भयो । फिल्ममा आफूले निर्वाह गरेको क्यारेक्टरले लैंगिक अल्पसंख्यक समुदायप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउने उनको विश्वास छ । सुरुमा त उनलाई तेस्रो लिङ्गीको क्यारेक्टरमा बस्न नै गाह्रो भएको थियो । सेटमा ‘रेस्ट’ गर्न पनि पाउँदैन थिएँ ।

विपिन सम्झन्छन्, ‘सुरु-सुरुमा त मलाई त्यो क्यारेक्टरमा बस्नै गाह्रो भएको थियो । क्यामेराले देख्ने ठाउँका रौँ खौरिनुपर्थ्यो । त्यसले निकै विझाउँथ्यो । अरु कलाकार जस्तो रेस्ट गर्न पनि पाउँदिन थिएँ । बिहान सबैभन्दा चाँडो उठेर मेकअपमा बस्नुपर्थ्यो । यद्यपि, अहिले आएर त्यही कुरा रमाइलो लाग्छ ।’ उनलाई त्यो क्यारेक्टरमा ढल्न मात्र होइन, त्यसबाट निस्कन पनि कठिन भएको थियो ।

एक/डेढ महिनासम्म बाँचेको क्यारेक्टरबाट मुक्त हुन छायांकन सकिएको दुई दिन उनी आफ्नै खर्चमा जनकपुर बसेका थिए । ‘त्यो क्यारेक्टरबाट मुक्त हुन मलाई गाह्रो भयो । छायांकन सकिएपछि पनि म दुई दिन जनकपुरमै बसेँ । हातमा मेहेन्दीको रंग गएको थिएन । नङमा ‘नेलपोलिस’ थियो । हिँड्नै नमिल्ने भएको थियो । त्यसमाथि क्यारेक्टर दिमागबाट उत्रिएको थिएन,’ उनले सम्झिए ।

फिल्ममा हरेक पात्रको आ-आफ्नै कथा रहेको र सबै सशक्त रहेको उनको दाबी छ । विपिन भन्छन्, ‘मैले निर्वाह गरेको क्यारेक्टर फिल्मको एउटा लेयर मात्रै हो । फिल्ममा हरेक क्यारेक्टरको आ-आफ्नै कथा छ । मेरो क्यारेक्टर लैंगिक हिसाबले फरक भएकाले सायद धेरैलाई अनौठो लागेको होला । र, अलि बढी चर्चा भएको हुनसक्छ । तर, फिल्मका सबै पात्रहरु नै उतिक्कै सशक्त छन् ।’