यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’ले नामलाई लिएर उत्पन्न विवादका कारण चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । केही हिन्दूवादी संगठनहरुले फिल्मको नाम परिवर्तनको माग गर्दै सिंहदरवारसम्म पुगेर निवेदन बुझाएपछि बोर्डबाट फिल्मले सेन्सर सिफारिस नपाएको हो । तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विवाद मिलाउन निर्देशन दिएपछि बोर्ड दबाबमा छ ।
सेन्सर सिफारिस नपाउँदा फिल्मको प्रदर्शन नै अन्योल अन्योल बनेको छ । यस्तैमा शनिबार मध्यरातमा निर्देशक झरना थापाले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सारा स्रोत सम्पत्ति र सपना लगानी गरेर बनाएको फिल्म चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भैरहेको बताएकी छन् । सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनेको गुनासो गर्दै उनले अब अन्तिम फैसला भगवानको हातमा रहेको उल्लेख गरेकी छन् ।
अन्तिम साससम्म फिल्ममै काम गर्छु भनेर हिँडिरहेको बताउँदै उनले लेखेकी छन्, ‘समाजको केही यथार्थलाई टिपेर एउटा फिल्म हामीले बनायौं । फिल्मको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर फिल्मको नाम ‘एक भगवत् गीता’ राख्यौं । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन ।’
फिल्मको निर्माण सकिएर दर्शकमाझ सुम्पिने बेला नाममाथि प्रश्न उठाइएको गुनासो गर्दै उनले आफ्नो जीवन नै भगवान् श्रीकृष्णको आस्थामा चलेको र श्रीमद्भागवत गीता आफ्नो फिल्म कर्मको प्रेरणा रहेको बताएकी छन् । उनी अगाडि लेख्छिन्, ‘म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो फिल्मको कथावस्तु सुनाएर ‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको स-प्रमाण बताइरहँदा पनि फिल्मलाई सेन्सर अनुमति नै दिइएको छैन ।’
चलचित्र विकास बोर्डले फिल्मको सेन्सर सिफारिसको विषयमा शुक्रबार बोर्ड बैठकबाट निर्णय गर्ने जानकारी गराएको थियो । तर, शुक्रबार यसबारेमा कुनै निर्णय हुन सकेन । आइतबार दिउँसोसम्म फिल्मको सेन्सर सिफारिसको विषयमा बोर्डले ठोस निर्णय लिने जनाइएको छ । हिन्दूवादी संगठनहरुले भने फिल्मको नाम परिवर्तन नगरी प्रदर्शन अनुमति दिए जस्तोसुकै कदम उठाउने चेतावनी दिएका छन् ।