डेब्यू फिल्म ‘नाईं नभन्नू ल ४’देखि नै अभिनेता पल शाहले अभिनयको आलोचना खेप्दै आएका छन् । उनी लुक्सको भरमा चलेको आरोप लाग्ने गर्छ । जेल जीवनपछि भने उनी अभिनयलाई लिएर गम्भीर देखिएका छन् । यसैले हुनसक्छ, उनले जीवनमै पहिलो पटक अभिनय सिकेका छन् । रंगकर्मी तथा निर्देशक अनुप बरालबाट उनले करिब चार हप्तासम्म ‘मेथड एक्टिङ’ सिकेका हुन् ।
पलले तीन दिन अगाडि फेसबुकमा अनुप बरालसँग पोखरामा अभिनय सिकिरहेको एउटा तस्वीर राखेका छन् । यतिबेला भने उनी असोज २ गतेबाट छायांकनमा जान लागेको आफ्नो कमब्याक फिल्म ‘मायावी’को वर्कसपमा व्यस्त छन् । यो फिल्मको छायांकन सकिएपछि उनले पुनः अनुप बरालबाट अभिनय सिक्ने जानकारी प्राप्त छ । ‘मेथड एक्टिङ’को कोर्ष करिब ३ महिनाको हुने गर्छ ।
‘मेथड एक्टिङ’लाई ‘विधि अभिनय’ भन्ने गरिन्छ । यो अभिनय विधिमा कलाकारले जस्तोसुकै भूमिकालाई भावनात्मक रुपमा प्रस्तुत गर्नुपर्छ । विश्वमै ‘मेथड एक्टिङ’को प्रयोग बढ्दो क्रममा छ । पलले पनि आफ्नो अभिनयमा परिपक्वता ल्याउन ‘मेथड एक्टिङ’को कोर्ष रोजेका हुन् । जेलमुक्त भएपछि म्यूजिक भिडियोमा काम गरिरहेका उनी यो वर्ष दुईवटा फिल्ममा काम गर्ने योजनामा छन् ।
उनले निर्देशक दिनेश राउतको एक फिल्ममा पनि काम गर्दैछन् । खासमा उनी निर्देशक राउतकै फिल्म पहिला गर्न चाहन्थे । तर, विभिन्न कारणले निर्माण ढिलाई हुने भएपछि उनले पहिला ‘मायावी’ गर्न लागेका हुन् । उनी आफैं पनि फिल्म निर्माण गर्ने तयारीमा छन्, जसलाई निर्देशक राउतले नै निर्देशन गर्न सक्नेछन् । उनले नै राउतलाई आफ्नो फिल्मको निर्देशन गर्न प्रस्ताव राखेका थिए ।