मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ले नेता र जनता दुवैलाई प्रश्न गर्छ : निर्देशक लामा

फिल्मीखबर, काठमाडौं, 2023/09/10

कुनै समय राजनीतिक विषय नेपाली फिल्मको मूल कथा बन्दैन थियो । तर, अघिल्लो स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा केही नयाँ अनुहारको जबर्जस्त उदयसँगै नेपाली फिल्ममा लभस्टोरी र कमेडीभन्दा पहिलो प्राथमिकतामा राजनीतिक विषय परिरहेको छ । यस्तैमा, राजनीतिक विषयवस्तुमा नै आधारित भएर बनेको नयाँ फिल्म ‘नाङ्गो गाउँ’ यही भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

दीपेन्द्र लामाले फिल्मको निर्देशन गरेका हुन् । उनले अघिल्लो फिल्म ‘छ माया छपक्कै’मा खानेपानीमा हुने राजनीतिलाई कथावस्तु बनाएका थिए । ‘नाङ्गो गाउँ’मा भने गलत नेता चुन्ने जनतामाथि प्रश्न उठाउने प्रयास गरेको लामाको कथन छ । फिल्मको नामलाई बिम्बात्मक रुपमा प्रयोग गरिएको प्रष्ट्याउँदै उनले इमानदारिता नेता र जनता दुवैमा चाहिन्छ भन्ने प्रश्न फिल्ममा उठाएको बताए ।

 

Dipendra Lama


एक भेटमा उनले भने, ‘सधैं नेताहरुमाथि हामीले प्रश्न उठाउँछौं । तर, नेता चुन्ने जनतामाथि चाहिँ किन प्रश्न नउठाउने ? गलत नेता चुनिएर आए भन्छौं तर त्यो नेता चुनेर पठाउने जनता नै हो । असल नेता चुन्ने जनताको चाहिँ दायित्व हुँदैन ? इमानदारिता नेता र जनता दुवैमा चाहिन्छ भन्ने प्रश्न फिल्ममा उठाएको छु ।’ आफूले तठस्थ भएर फिल्ममा कथा भनेको समेत उनले दाबी गरेका छन् ।

‘मैले तठस्थ भएरै फिल्म बनाएको छु । त्यसो त म वास्तविक जीवनमा पनि तठस्थ छु । कुनै राजनीतिक दलप्रति मेरो आस्था छैन । न त कुनै पार्टीको कार्यकर्ता हुँ । मलाई राम्रो नलागेको कुराको खुलेरै विरोध गर्छु । यद्यपि, मलाई राजनीतिमा रुचि छ । भ्याएसम्म हरेक चुनावमा मतदान गर्न गाउँ पुगेकै हुन्छु,’ उनले भने । दीपेन्द्रले फिल्ममा आफूले केही ‘एक्सपेरिमेन्ट’ नगरेको पनि प्रष्ट पारे ।  

‘मलाई पहिल्यैदेखि भन्न मन लागेको एउटा कथालाई लेखेर क्यामेरामार्फत् पर्दामा उतारेको छु । हामीले नेपाली फिल्म इन्डस्ट्रीका लागि एउटा ‘माइलस्टोन’ कृति बनाउँछौं भनेर बनाएको पनि हैन,’ उनी भन्छन्, ‘मेरो उद्देश्य निर्माताको लगानी सुरक्षित भैदियोस् र फिल्म हेर्दा दर्शकहरुलाई यातना नहोस् भन्ने हो । र, फिल्मको कन्टेन्टले दर्शकलाई केही सोच्न प्रेरण दिओस् भन्ने मात्र उद्देश्य छ ।’