मिस नेपाल पृष्ठभूमिकी शुभेक्क्षा खड्काको फिल्ममा सुखद करिअर बन्न सकेको छैन । दुईटा फिल्ममा काम गरिसकेको भए पनि उनलाई अभिनेत्रीको रुपमा स्थापित हुन अझै संघर्ष गर्नुपरेको छ । ‘रणवीर’ उनको पहिलो फिल्म थियो । दोस्रो फिल्मको रुपमा ‘प्रेमा’ गरेकी थिइन् । तर, दुवै फिल्म व्यावसायिक रुपमा सफल भएनन् । न त अभिनयमै उनले आफूलाई प्रमाणित गर्न सकिन् ।
अब उनी तेस्रो फिल्ममा काम गर्ने तयारीमा रहेकी छिन् । ‘पञ्चेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘चित्रा’मा उनले मुख्य भूमिकामा अभिनय गर्दैछिन् । अघिल्ला दुई फिल्मको कमजोर नतिजाले संकटमा परेको करिअरलाई ‘चित्रा’बाट पुर्नजीवित गर्नुपर्ने चुनौती उनलाई छ । यसपटक अभिनयमा पनि आफूलाई सक्षम सावित गर्नुपर्ने दबाब उनीमाथि छ ।
यही भदौ अन्तिमदेखि छायांकन सुरु हुन लागेको फिल्ममा शुभेक्क्षासँगै अर्पण थापा, मेनुका प्रधान, प्रमोद अग्रहरी, सिम्रन खड्का, सन्तोष अधिकारी लगायतको पनि अभिनय रहनेछ । एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको कार्यकारी निर्मातामा सन्तोष अधिकारी छन् । एक साधारण बाबु र छोरीको कथालाई प्रस्तुत गर्न लागिएको फिल्मको लेखन मनिष गौतमले गरेका हुन् ।