डेब्यू फिल्म ‘नाईं नभन्नू ल ६’ प्रदर्शनलगत्तै अभिनेता आशिर्वाद क्षेत्रीको हातमा निर्देशक दीवाकर भट्टराईको फिल्म ‘मायावी’ परेको थियो । ‘नाईं नभन्नू ल ६’मा काम हेरेपछि दीवाकरले उनलाई फिल्ममा अनुबन्ध गरेका थिए । तर, अब उनी फिल्ममा नरहने भएका छन् । आर्शिवाद स्वयंले फिल्मीखबरसँगको अनलाइन कुराकानीमा फिल्मबाट आफू सहमतिमा नै अलग भएको जानकारी गराए ।
उनले भने, ‘मेरो नजिकिँदै गरेको परीक्षाले फिल्ममा काम गर्न नभ्याएको हुँ । परीक्षाका लागि समय दिनुपर्ने भएपछि सहमतिमा म ‘मायावी’बाट अलग भएको हुँ । र, परीक्षापछि म अर्को फिल्ममा काम गर्दैछु । त्यसका लागि पनि केही पूर्वतयारी गर्नुपर्नेछ ।’ उनी बाहिरिएपछि फिल्ममा अभिनेता पल शाहको प्रवेश भैसकेको छ । आशिर्वाद केही दिन ‘मायावी’को वर्कसपमा समेत बसेका थिए ।
चकलेटी अभिनेताको खडेरी रहेको समयमा आशिर्वादको आगमनलाई चासोपूर्वक हेरिएको छ । ‘नाईं नभन्नू ल ६’मा उनको लुक्स, नृत्य र एक्सनको प्रशंसा भएको थियो । अभिनयको मामलामा भने उनी कमजोर देखिएका थिए । तर, डेब्यू फिल्म नै असफल हुँदा उनलाई ठूलो धक्का लाग्यो । यद्यपि, उनीमाथि मेकरको नजर परेको छ । अब दोस्रो फिल्म उनको करिअरकै अग्नि परीक्षा हुनेछ ।
रिहान गिरी पनि फिल्ममा नरहने
आर्शिवादसँगै ‘मायावी’बाट ‘द भ्वाइस अफ नेपाल-४’का प्रतिस्पर्धी गायक रिहान गिरी पनि बाहिरिएका छन् । उनी भुटानी नागरिक हुन् । नेपालमा बस्नका लागि भिसाको समस्या आएपछि उनी फिल्ममा नहुने भएका छन् । उनको ठाउँमा नयाँ अनुहारलाई लञ्च गर्ने तयारीमा निर्देशक भट्टराई रहेका छन् । आगामी असोज पहिलो हप्ताबाट तालनगरी पोखरा क्षेत्रमा फिल्मको छायांकन हुँदैछ ।