ग्याङ्गस्टर कथामा बन्न लागेको फिल्म ‘रङ्गेली’को छायांकन सुरु भएको छ । सोमबार मोरङस्थित काली मन्दिर रंगेलीमा शुभमुहूर्त गर्दै मंगलबारदेखि सुनसरीको इटहरीबाट फिल्मको छायांकन थालिएको हो । रङ्गेलीसहित पूर्वका कर्सिया, कटहरी, विराटनगर र विर्तामोडमा छायांकन हुने फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडालगायतको मुख्य भूमिका रहनेछ ।
दयाहाङ यतिबेला आफ्नो फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरका लागि क्यानडामा छन् । जसले गर्दा उनको भागको छायांकन २ हप्तापछि राखिएको छ । त्यस्तै, मिरुना आफू अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनपछि छायांकनमा जोडिनेछिन् । दयाहाङ र मिरुनाबीच चौंथो पटक सहकार्य हुन लागेको हो । यो जोडी अभिनीत ‘कबड्डी ४’ र ‘जारी’ बक्स अफिसमा सुपरहिट भएका थिए ।
अर्जुन सुवेदीले निर्देशन जिम्मेवारी सम्हालेको फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई छन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता रहेको फिल्ममा निर्देशक सुवेदीको लेखन छ । छायाँकारमा सुसन प्रजापति छन् । फिल्मको एउटा गीतमा युरोपको प्रतिष्ठित बुढापेस्ट अर्केस्ट्राको लाइभ अर्केस्ट्रा राखिएको छ ।
प्लानेट थ्री फिल्मस् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्मको पहिला ‘रङ्गेली ग्याङ्स्टर्स’ शीर्षक राखिएको थियो । पछि निर्माण टिमले शीर्षक परिमार्जित गरेर ‘रङ्गेली’ मात्रै राखेको हो । छायांकन सुरु हुनुभन्दा अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरिसकिएको छ । यस वर्षको फागुन २५ गते अर्थात् आगामी महाशिवरात्रीकै दिन फिल्म सार्वजनिक प्रदर्शनमा आउनेछ ।