अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको १२औं फिल्म हो, ‘नाङ्गो गाउँ’ । केही वर्षदेखि असफलतासँग जुधिरहेकी उनलाई यो फिल्म सफल हुनैपर्न दबाब छ । तर, फिल्म प्रदर्शनको संघारमा रहँदा समेत प्रचारमा उनको उपस्थिति न्यून छ । त्यति मात्र होइन, एक पोस्टरबाहेक ट्रेलर र गीत समेत उनले सामाजिक सञ्जालमा सेअर गरेकी छैनन् । जबकि, उनी सामाजिक सञ्जालमा सक्रिय छिन् ।
यसअघि आफ्ना हरेक फिल्मको प्रचारमा उनको उपस्थिति सशक्त देखिन्थ्यो । उनका समाजिक सञ्जाल फिल्मको प्रचार सामाग्रीले भरिन्थे । तर, ‘नाङ्गो गाउँ’को हकमा त्यस्तो देखिएको छ । उनले इन्स्टाग्राम स्टोरीमा दिनहुँ परिवार र साथीभाईसँग रमाइलो गरेका तस्वीर तथा भिडियो राखिरहेकी हुन्छिन् । तर, फिल्मबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्न समेत उनमा रुचि देखिएको छैन ।
केही दिनअघिको एक भेटमा निर्देशक तथा लेखक दीपेन्द्र लामाले साम्राज्ञी व्यस्त भएकाले प्रचारमा हिँड्न नभ्याएको बताएका थिए । तर, साम्राज्ञीको इन्स्टाग्राम स्टोरी हेर्दा त्यस्तो देखिन्न । उनले जानबुझ नै फिल्मलाई बेवास्था गरेको देखिन्छ । आफ्नो फिल्मप्रति उनको यसखालको मौनता पहिलोचोटी देखिएको हो । कतै साम्राज्ञीको निर्माण टिमप्रति चित्तदुखाई त होइन ? प्रश्न उब्जिएको छ ।
फिल्मको पोस्टरदेखि ट्रेलरसम्म दयाहाङ राई र मिरुना मगर हाबी छन् । र, प्रचारमा पनि उनीहरु नै प्राथमिकतामा छन् । जबकि, यसअघिका फिल्मका प्रचार सामाग्रीमा साम्राज्ञी हाबी हुने गरेकी थिइन् । यसपटक दयाहाङ र मिरुनाले उनलाई छायाँमा पारेका छन् । फिल्म रिलिजपछि पनि यही स्थिति नहोला भन्न सकिन्न । यसैले उनलाई यो फिल्मप्रति चासो र चिन्ता नै नभएको पो हो कि ?