नेपाली फिल्ममा मुश्लिम समुदायको उपस्थिति औंलामा गन्न सकिने संख्यामा मात्र छ । आसिफ शाह, नाजिर हुसेन, ओशिमा बानु, हसनराजा खान आदिले मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छन् । तर, जुन संख्यामा नेपाली फिल्ममा अरु समुदायको उपस्थिति छ, त्यसअनुरुप मुस्लिम समुदायको छैन । यसैक्रममा, फिल्म ‘मायावी’बाट अर्का एक मुश्लिम अभिनेताको उदय हुने भएको छ ।
‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्मबाट समिम खानले अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् । ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’को विजेता रहेका उनीसँग म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ । सन् २०१९ मा ‘जी म्यूजिक कम्पनी’बाट समिम अभिनीत ‘कुछ तो हुवा है’ बोलको हिन्दी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।
दीवाकरभन्दा अगाडि नै समिममाथि केही मेकरको नजर परिसकेको छ । उनी स्वयंले गत जुलाईमा ‘पञ्चेबाजा’ निर्देशक घनश्याम लामिछाने र लेखक प्रदीप भारद्वाजसँग एक फिल्मको विषयमा छलफल भएको जानकारी फेसबुकमार्फत् गराएका छन् । स्रोतका अनुसार, ‘मायावी’पछि निर्देशक लामिछानेको नयाँ फिल्ममा समिमले काम गर्नेछन् । उनलाई अन्य केही फिल्मको पनि अफर छ ।
समिमको प्रवेशसँगै फिल्ममा प्रमुख कलाकारको लाइनअप पूरा भएको छ । फिल्ममा यसअघि पल शाह, दीपिका प्रसाईं र सुशील सिटौलाको प्रवेश भैसकेको छ । फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । आगामी असोज २ गतेबाट तालनगरी पोखरामा छायांकन सुरु हुन लागेको ‘मायावी’मा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत तथा राजुविक्रम थापाको डिओपी रहनेछ ।