यही शुक्रबार अर्थात् भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)को मैथिली भाषाको गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘झिँझिँया’ बोलको लोक भावको गीतमा नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने गायक मलिकले नै संगीत दिएका छन् ।
यो मैथिली समुदायको परम्परागत गीत हो । यसले मैथिली संस्कृति र जीवन बोल्छ । मैथिली समुदायमा दुर्गा पूजाको अवसरमा यो गीतमा नृत्य गर्ने प्रचलन छ । त्यही गीतलाई नयाँ शैलीमा तयार गरेर फिल्ममा समावेश गरिएको छ । जानकी मन्दिरको परिसरमा छायांकन गरिएको गीतमा अभिनेत्री सुहाना थापा नृत्य गर्दै प्रस्तुत छिन् भने विपिन कार्कीलाई ‘ट्रान्सजेन्डर’ लुक्समा देख्न सकिन्छ ।
फिल्ममा सुहाना र विपिनसँगै धीरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झालगायतको पनि अभिनय रहेको छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ ।
राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको निर्मातामा सुहाना थापा छिन् । विपिनको भूमिका र लुक्सका कारण यो फिल्म चर्चाको केन्द्रमा छ । उनले पहिलो पटक ‘ट्रान्सजेन्डर’को भूमिका निर्वाह गरेका हुन् । यो फिल्म चल्ने मुख्य आधारलाई नै उनलाई मानिएको छ । र, दर्शकमा पनि उनको भूमिकालाई लिएर कौतुहलता देखिन्छ ।